News Portal

  • मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ कार्तिक २०८१
    ३१५ पटक
    भक्तपुर, १५ कार्तिक २०८१

    भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग सम्य बजी खाएका छन् । परिवारको जमघट तथा नेवारी पर्वहरूमा खाइने सम्य बजी बिहीवार उनले यहाँका शहिद परिवारसंग बसेर खाएका हुन् ।

    नेपाल संवत् ११४५ को अवसरमा स्थानीय पार्टी समितिले आयोजना गरेको शुभकामना आदान प्रदानका अवसरमा उनले शहिद परिवारसंग बसेर सम्य बजी खान पाउँदा आनन्दको अनूभूति मिलेको बताए । तत्कालीन जनयुद्धमा मध्यपुर थिमिको योगदान स्मरण गर्दै उनले शहिदको सपना पुरा गर्न आफूले सरकारमा रहँदा इमान्दारीसाथ प्रयत्न गरेको बताए ।

    ३२ सिट हुँदा त माओवादीले यति काम गर्यो भन्ने जमात बढ्दै गएको उनको जिकिर छ । मध्यपुर थिमिमा पनि पार्टीका नगर अध्यक्षले उपमेयर भएर राम्रो काम गरिरहेका कारण पार्टीको शिर उँचो भएको र ८४ मा पार्टीले जीतको झण्डा गाड्ने उनले बिश्वास व्यक्त गरे ।

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शहिद बैकुण्ठहरी श्रेष्ठकी पत्नी जगत्लक्ष्मी श्रेष्ठसंग सोधे, ”तपाइँको घरमा उहिल्यें आएको सम्झनुहुन्छ ?” आफूले बैकुण्ठहरीलाई भुल्न नसकेको प्रचण्डले बताउँदा शहिद पत्नी श्रेष्ठ भावुक बनेकी थिइन् । प्रचण्डप्रति ठुलो बिश्वास रहेको बताउँदै उनले आफ्ना पतिको सपना अनुसार माओवादीले सरकार बनाएको र प्रचण्डले राम्रो काम गरेको प्रति सन्तोष व्यक्त गरिन् ।

    शहिद सविन श्रेष्ठकी पत्नी कृष्णशोभा लक्ष्मी श्रेष्ठले शहिदका सपना साकार पार्न पर्नेमा जोड दिइन् ।आफ्नो श्रीमान् ले ज्यान दिएको पार्टीप्रति आफ्नो ज्यान भन्दा बढी माया लाग्ने उनले बताएकी छन् । माओवादीले राम्रो गरेको छ भनेर मानिसले भन्दा आफूलाई खुशी लाग्ने र यो पार्टीप्रति मानिसहरु निराश भए आफूलाई पनि चिन्ता लाग्ने गरेको उनको भनाइ छ । । शहिद परिवारले अधिकार प्राप्त गर्न फेरिपनि कसैले ज्यान गुमाउन नपरोस भन्ने कामना गर्दै पार्टीले जनतालाई खुशी र सुखी बनाउने बिश्वास व्यक्त गरेका छन् ।

    तत्कालीन जनयुद्धमा माओवादीप्रति आस्था राखेकै कारण जेल परेका बैकुण्ठहरीको जेलमै ज्यान गएको थियो भने सविनलाई पसलबाट गिरफ्तार गरी तत्कालिन राज्य सत्ताले निर्ममतापूर्वक हत्या गरेको थियो । थिमिमा नेकपा (माओवादी केन्द्र) ले विगतमा शहिद परिवारलाई पर्याप्त सम्झन नसकेको भएपनि पछिल्लो समय शहिद परिवारलाई प्रत्येक कार्यक्रममा आमन्त्रण र सम्मानको प्रचलन चलाएको छ । विशेषगरी हरेक वर्ष संविधान दिवस र जनयुद्ध दिवसमा स्थानीय पार्टीले शहिद र शहिद परिवारलाइ सम्मानको प्रचलन नै चलाएको नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठ बताउँछन् ।

    बिहीवार आयोजित औपचारिक समारोहमा पनि शहिद परिवारलाई अध्यक्ष प्रचण्डको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो । नेकपा माओवादी केन्द्र (मध्यपुर थिमि) नगर समितिले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताए । नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आइरहेको भएपनि विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुले आफूसंग गरेका उनले खुलासा गरे ।

    अध्यक्ष प्रचण्डले भने– ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’

    नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गरेका छन् । त्यति मात्र होइन, आफ्नो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको कुरालाई पनि प्रचण्डले महत्वपूर्ण उपलब्धि मानेका छन् ।

    कार्यक्रम अघि उनले नयाँ थिमिको शंखधर चोकस्थित राष्ट्रिय बिभुती शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गरेका थिए । शंखधरले गरीब जनताको ऋण मोचन गर्ने पवित्र कार्य गरेको स्मरणमा नेपाल संवत शुरु भएको र यो संवत जनतासंग जोडिएको जनताको संवत भएको उनको भनाइ छ । ”शंखधर साख्वा बाटै प्रभावित भएर हामीले पहिलो कार्यकालमा करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय गरेका थियौं ।’ उनले भने । पहिले गरेका जानामुखी कामको रेकर्ड तोड्न अरु सरकारले नसकेका र पछिल्लो पटक भ्रष्टाचार बिरुद्धको अभियानसम्म आइपुग्दा देशैभरि माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको उनले बताएका छन् ।

    माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति र रामनारायण बिडारी लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा केन्द्रीय नेताहरु लीलामणी पोखरेल,देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ र रामप्रसाद सापकोटा दिपशिक्षा लगायतको समेत आतिथ्यता रहेको नगर सचिव शिव सुन्दर श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...

    बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा

    कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष...

    गृहमन्त्रीका नक्कली पीए पक्राउ

    गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ...