News Portal

  • चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ माघ २०८१
    ४६३ पटक
    भक्तपुर, १७ माघ २०८१

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन गराउन भन्दै नेपाली काँग्रेसका नेताहरुले ल्याएका उपप्रधानमन्त्री द्वयलाई नेकपा एमालेका नेताहरुले भने मानव अंग प्रत्यारोपण केन्द्र सार्नु पर्यो भन्दै जग्गा देखाए ।

    केन्द्रीय सत्ता साझेदार रहेका कांग्रेस-एमाले चाँगुनारायणमा एकमत नदेखिदा उपप्रधानमन्त्री द्वय नै बिलखबन्दमा परेका थिए । एउटा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल एमालेका र अर्का उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह काँग्रेसका नेता भएकाले पनि उनीहरु काँग्रेस-एमालेको तानातानमा परेका थिए । संगै आएका उनीहरु आफ्ना कार्यकर्ता रिझाउन ‘नाइँ’ भन्ने अवस्थामा थिएनन र जता लग्यो उतै टाउको हल्लाउदै थिए ।

    उप प्रधानमन्त्रीद्वय चाँगुनारायण आउनुको खास कारण चै स्मार्ट सिटी कार्यान्वयनको अवस्था बारे जानकारी लिनु रहेको काँग्रेस नेताहरु बताउँछन् भने एमाले नेताहरु भने अस्पतालको जग्गा हेर्न आएका जिकिर गर्छन ।

    ”चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको गुनासो गरिएको कारण उहाँहरु आउनुभएको हो ।” चाँगुनारायण नगरपालिका प्रंमुख जीवन खत्रीले भने । चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने दुवै उपप्रधान मन्त्रीले प्रतिवद्धता प्रकट गरेका नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।

    चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएकोले संघीय उपप्रधानमन्त्रीहरुको अवलोकन गराइएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले समेत बताए ।

    तर, वडा नम्बर ३ मा पुग्दा वडाध्यक्ष श्यामसुन्दर धिमालले शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र सर्ने भनेर दिएको जग्गामा नसरेको गुनासो गर्दै उपप्रधानमन्त्री द्वयलाई त्यहाँ पुर्याए । त्यहाँ जाने पूर्व जानकारी उप प्रधानमन्त्रीलाई त के मेयरलाई समेत नभएको श्रोतको दावी छ । वडाध्यक्ष धिमालले केही समय अघि मेयर र उपमेयरको अनुपस्थितिमै पत्रकार सम्मेलन गरी प्रत्यारोपण केन्द्र सार्नुपर्ने माग गरेपछि स्टन्टबाजी गरेको आरोप लाग्दै आएको छ । वडाध्यक्ष धिमालले प्रत्यारोपण केन्द्र सार्ने आफ्नै मात्र ठेक्का भएको झैँ गरी प्रचारबाजी गरेको भन्दै मेयर खत्रीले आफ्ना कार्यकर्तासंग असन्तुष्टि पोख्दै आएका छन् ।वडा नम्बर ३ मा पुग्दा वडाध्यक्ष धिमालले प्रत्यारोपण केन्द्रलाई दिएको जग्गातिर तानेपछि मेयर खत्री पनि पछि लागेका थिए । स्वास्थ्य मन्त्रीसंग सम्बन्धित विषयमा व्यर्थैमा उपप्रधानमन्त्री लाई दुख दिएको भन्दै काँग्रेस नेताहरु कानेखुशी गरिरहेका थिए ।

    सो अवसरमा उप प्रधानमन्त्रीद्वयले स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने, कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्ने र स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा उपलब्धीपूर्ण छलफल तथा अवलोकन गरेका मेयर खत्रीले बताए ।

    छलफल तथा अवलोकनमा उपप्रमुख रमेश बुढाथोकी, वडाध्यक्षहरु, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल,पूर्व सचिव मणीराम गेलाल, पूर्व जिसस प्रमुख नवराज गेलाल, नेकपा एमाले र नेपाली काँग्रेसका नेताकार्यकर्ता लगायतको उपस्थिति देखिए पनि विपक्षी दलका प्रतिनिधि र सरोकारवालालाई भने जानकारी गराइएको देखिएन । आफ्नो पार्टीको सरकार हुँदा पहल शुरु गरि पहिलोपटक बजेट बिनियोजन गरेको प्रोजेक्टमा उपप्रधानमन्त्री ल्याउदा खबर सम्म नगर्नु गैर राजनीतिक सोच र कुण्ठा भएको नेकपा माओवादी केन्द्रका चाँगुनारायण नगर उपाध्यक्ष बिनोद लामिछानेले बताए ।

    आफ्ना कार्यकर्ताको चालामाला हेरेर उपप्रधानमन्त्री द्वय भने चाँगुनारायण मन्दिरको दर्शन गरी सिंहदरवार फर्किएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...