News Portal

  • लगनखेलको गुमनाम ‘न्हू पुखु’ बनाउने जिम्मा भक्तपुरको काँधमा

    सेतोपाटीका लागि सविना श्रेष्ठको रिपोर्ट

    काठमाडौं, ७ साउन
    ११९५ पटक
    काठमाडौं, ७ साउन

    भक्तपुरको व्यस्तता बढेको छ। ऊ आफ्ना दुई पोखरी ‘भाजु पुखु’ र ‘रानी पुखु’ ब्युँताइरहेको छ। काठमाडौंको रानीपोखरी जिम्मा पनि उसैलाई छ। त्यहीमाथि लगनखेलको ‘न्हू पुखु’ बनाउने जिम्मा उसको काधँमा आएको छ।

    यी तीनै पोखरी पुनर्निर्माणको नेतृत्व गरिरहेका छन्, भक्तपुरका कृष्णप्रसाद दुमरूले। उनकै नेतृत्वमा भक्तपुरका महिला–पुरुषको ४० जनाको टोलीले उपभोक्ता समितिमार्फत् काम गरिरहेका छन्। अन्य पोखरीमा जस्तै यहाँ पनि काम गर्नेहरू पुरुषको तुलनामा महिला बढी छन्।

    उपत्यकाका तीनै सहरमा भइरहेको पोखरी निर्माण स्थिति बुझ्न दुमरू दैनिकजसो पुग्छन्।

    ‘बिहान भाजु पुखुको निर्माणबारे बुझ्छु। दिउँसो आवश्यकताअनुसार रानीपोखरी र न्हू पुखुलाई समय दिन्छु,’ उनले भने, ‘तीनै सहरका पोखरीलाई उत्ति नै महत्वका साथ निर्माण गरिरहेका छौं।’

    लगनखेलको न्हू पुखु। तस्बिरः निशा भण्डारी/सेतोपाटी

    परम्परागत शैलीमा निर्माण गर्ने कार्यदक्षता भएकाले भक्तपुर पोखरी निर्माणमा प्रसिद्ध छ। भाजु पुखुमा भएको निर्माण कार्यले प्रभावित भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही महिनाअघि काठमाडौंको रानीपोखरी पुनर्निर्माण जिम्मा भक्तपुरलाई दिएको हो। त्यसैबाट प्रभावित भएर ललितपुरको न्हू पुखु पनि बनाउन दिइएको वडा नम्बर ४ का अध्यक्ष विकाशमान श्रेष्ठ बताउँछन्।

    ‘भक्तपुरकाे कामको चर्चा जहीँतहीँ छ। हामीले पनि यो पोखरी बनाउने जिम्मा उहाँहरूलाई सुम्पिएका छौं,’ श्रेष्ठले भने, ‘उहाँहरू ठेक्कामा नभई उपभोक्ता समितिमार्फत् काम गर्नुहुन्छ। स्थानीयको सहभागता र अनुभवी मान्छेबाट काम गराउने पक्षले हामीलाई आकर्षित गरेको हो।’

    काठमाडौंको रानीपोखरीलाई पनि ‘न्हू पुखु’ भनिन्छ। न्हूको अर्थ नेवार भाषामा नयाँ भन्ने बुझिन्छ। तत्कालीन समयमा नयाँ भएकाले पोखरीको नाम ‘न्हू पुखु’ रहेको हुनसक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

    लगनखेलको न्हू पुखु १६ औं शताब्दीमा सिद्धिनरसिंह मल्लकाे समयमा निर्माण भएको मानिन्छ। यहाँ राजकुलोबाट पानी भरिन्थ्यो। काठमाडौं उपत्यकाका धेरै राजकुलोमध्ये तीनवटा प्रमुख मानिन्छन्। काठमाडौंका लागि बुढानिलकण्ठ, भक्तपुरका लागि बागेश्वरी र पाटनका लागि टीकाभैरव। टीकाभैरवबाट सोह्र किलोमिटर बगेर आउने पानीले पाटनका पोखरी भरिन्थे। पोखरी भरिएपछि ढुंगेधारा र इनार रसाउँछन्।

    न्हू पुखु पनि राजकुलोबाटै भरिन्थ्यो। राजकुलो मासिँदै गएपछि करिब २० वर्षअघि पोखरी सुक्यो। वडाध्यक्ष श्रेष्ठका अनुसार पोखरी सुकेपछि त्यो फोहोर फाल्ने ठाउँ बन्दै गयो।

    ‘यहाँ सुंगुर–बंगुर खेल्ने ठाउँ भइसकेको थियो। कति त अतिक्रमणमा पनि परे,’ श्रेष्ठले भने, ‘पोखरी त सुक्यो, यसले चर्चेको जमिन पनि मासिने अवस्था आइसकेपछि स्थानीय मिलेर त्यसलाई ब्युँताउने योजना बनाउन थाल्यौं।’

    स्थानीय अग्रसर भएर तत्कालीन नगरपालिकालाई पोखरी ब्युँताउन आह्वान गरे। श्रेष्ठका अनसार त्यो बेला पाटनका तीन पोखरी सप्तपाताल, पूर्णचण्डी र न्हू पुखु निर्माणका लागि नगरपालिकाले १८ लाख रूपैयाँ दिएको थियो। त्यही लागतले न्हू पुखुको घाँस उखेलेर माटो झिक्नेदेखि पोखरीमा पानी भर्नेसम्म काम भए।

    ‘हामीले राजकुलो भने फर्काउन सकेनौं। आकाशे र जमिन/सडकको पानी संकलन गरी फिल्टर गरेर पोखरी भर्यौं,’ श्रेष्ठले भने, ‘त्यसपछि एक जना मान्छेलाई पोखरीमा माछा छोड्नेदेखि त्यसको रेखदेख गर्ने जिम्मा दियौं।’

    त्यसैको उपलब्धिस्वरुप पोखरीमा पानी भरिभराउ भयो। अहिले चारैतिर मर्मतसम्भार र माटो निकाल्ने काम भइरहेको छ। पोखरीबाट करिब ५० खेप माटो निकालिएको छ। यो आफूले सोचेभन्दा धेरै भएको दुमरू बताउँछन्।

    पहिले पोखरीको चारैतिर पर्खाल थिएन। उत्खनन् क्रममा चारैतर्फ पर्खाल फेला परेको छ। पश्चिमी भागमा ढुंगाको ‘रिटेनिङ वाल’ थियाे। त्यसलाई भत्काएर पुरानै स्वरुपमा निर्माण गर्न लागिएको छ। अहिले दक्षिणी भागमा भिरालो पर्खाल बनाउने काम भइरहेको छ।

    त्यसका साथै पोखरी बीचमा काठ पनि फेला परेको छ।

    भक्तपुरको भाजु पुखुमा पनि त्यस्तै काठ फेला परेपछि अनुसन्धान क्रममा बीचमा मन्दिर रहेको तथ्य फेला परेको थियो। यो पोखरीमा पनि पहिले स्तम्भ, मूर्ति वा केही पुरातात्विक सम्पदा हुनसक्ने भएकाले अनुसन्धान जरूरी रहेको दुमरू बताउँछन्।

    ‘पोखरी उत्खनन् क्रममा नसोचेको नतिजा फेला पार्यौं। अनि पहिलेको योजनाभन्दा फरक ढंगले काम गर्नुपर्यो,’ दुमरूले भने, ‘पर्खाल नै छैन भनेको ठाउँमा पर्खाल भेटियो। बीचमा काठ भएको ठाउँमा पनि केही थियो कि? त्यो पनि अध्ययन गरेर निर्माण गर्न पाए पोखरीले पूर्णता पाउनेथ्यो।’

    न्हू पुखु तीन तहको छ। सबै तह साढे सात फिट छन्। वडाध्यक्ष श्रेष्ठका अनुसार पहिले यो पोखरी जिर्णोद्धारका लागि पानी सुकाउने योजना थियो। तर सुकाउँदा फेरि जमाउन गाह्रो हुने भएकाले जस्तापाताले रोकेर पानी नसुकाइ निर्माण भइरहेको छ।

    पाेखरीकाे दक्षिणी भागमा बगैंचा छ। श्रेष्ठका अनुसार बगैंचालाई थप सुधार गर्दै सार्वजनिक र पर्यटकीय स्थानकाे रूपमा विस्तार गरिनेछ। तीन वर्षमा पोखरी र बगैंचाको काम सक्ने लक्ष्य छ। यसका लागि करिब ४५ लाख रुपैयाँ छुट्याइएको छ।

    पोखरी उत्खनन् क्रममा नयाँ तथ्य फेला परेपछि भने निर्माण सकुन्जेल लागत बढ्नसक्ने अनुमान छ। पोखरी निर्माण र संरक्षण निम्ति न्हू पुखु संरक्षण तथा पुनर्निर्माण समिति गठन गरिएको छ।

    ‘पोखरी वरिपरि घुम्ने बगैंचा, बत्ति जोड्ने काम गरेर यो ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्ने सोच छ,’ श्रेष्ठले भने, ‘वर्षौंदेखि गुमनाम न्हू पुखुलाई प्रवर्द्धन गर्ने प्रयास हो।’

    यता तीनै पोखरीको नेतृत्व गरिरहेका कृष्णप्रसाद दुमरू भने मनसुनका कारण पोखरी निर्माणमा कठिनाइ भइरहेको बताउँछन्।

    तिहारसम्म बनाइसक्ने भनिएको रानीपोखरी कसरी सकिएला भनेर उनी योजना पनि बनाइरहेका छन्। भाजु पोखरीमा पनि मन्दिर निर्माण तयारी भइरहेको छ। भ्याइनभ्याइ भए पनि तीनै पोखरी निर्माण जिम्मा भक्तपुरले पाउँदा उनी गौरवान्वित छन्।

    ‘उपत्यकाका तीन ठूला पोखरी निर्माण गर्न पाउँदा गौरव महशुस हुन्छ। पोखरी निर्माणका लागि भक्तपुरको सीप र दक्षतालाई विश्वास गर्नु ठूलो कुरा हो,’ दुमरूले भने, ‘यसले तीनै सहरको सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।’

    सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    निराजन nirajan ghimire

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा...

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत...

    भक्तपुरका गैरसरकारी संस्थाले समेत ‘सूचना अधिकारी’ तोक्नुपर्ने

    CDO rudra sharma

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लास्थित गैरसरकारी कार्यालयहरुको सूचना सस्प्रेषणमा कडाइ गरेकी छन् ।...

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ...

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन...