News Portal

  • कोरोनाभाइरस: चीनमा ६ दिनमा अस्पताल कसरी बन्ला?

    भक्तपुरपोष्ट संवाददाता११ माघ २०७६
    ८४३ पटक
    ११ माघ २०७६

    वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ। अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ। १ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण सुरु भएको थियो।

    यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ। राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन् ।  चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन्।

    सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ। “यो सङ्क्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो” हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन्।

    काउन्सिल अन फरेन रिलेसन्समा वरिष्ठ सदस्य यानझोङ हुआङले भने “चीनमा यस्ता किसिमका आयोजना एकदम छिटो सम्पन्न हुने गरेको रेकर्ड छ।” उनले बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको भन्दै अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गर्न लागिएको हुनसक्ने बताए। बेइजिङको जस्तै यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ। “निरङ्कुश मुलुकमा यसप्रकारको माथिबाट तल परिचालन गर्ने प्रकिया अपनाइन्छ। त्यसले गर्दा प्रशासनिक र आर्थिक झमेलाबाट पार पाइन्छ र सबै खाले स्रोत परिचालन गर्न पाइन्छ।”

    हुआङले भने- समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू-भागबाट इन्जिनियरहरू ल्याइनेछन्। “चीनमा इन्जिनियरिङ कार्य राम्रो छ। त्यहाँ एकदम द्रुत गतिमा अग्ला भवन बनाइएको रेकर्ड पनि छ। यो पश्चिमाहरूका लागि अकल्पनीय छ। त्यो गर्न सकिन्छ,” उनले भने।

    औषधिजन्य पदार्थ भने वुहानले अरू अस्पताल वा फ्याक्ट्रीबाट सजिलै ल्याउन सक्नेछ। शुक्रवार द ग्लोबल टाइम्सले चिनियाँ सेनाका १५० जना स्वास्थ्यकर्मी वुहान आइपुगेको पुष्टि गरेको थियो। तर तिनले नयाँ अस्पतालमा काम गर्ने हुन् कि होइनन् भन्ने कुरा भने उसले पुष्टि गरेको छैन।

    सन् २००३ मा बेइजिङमा सार्स रोगका लक्षण भएका बिरामीको उपचार गर्न भनेर जियाओट्याङशन अस्पताल बनाइएको थियो। सात दिनमा अस्पताल निर्माण सम्पन्न भएको थियो। त्यसले संसारमा सबभन्दा छिटो अस्पताल बनाउने रेकर्ड पनि तोडिएको बताइएको छ।

    उक्त अस्पताल बनाउन ४००० मान्छेले दिनभर र रातभर काम गरेको चाइना डटकम डट सीएनले जनाएको छ। त्यहाँ एक्स रे कोठा, सीटी कोठा सघन उपाचार कक्ष र प्रयोगशाला थियो। हरेक वार्डमा आफ्नै शौचालय थियो। दुई महिनाभित्रै अस्पतालले देशभरका सात भागमा एक भाग सार्सका बिरामी भर्ना गरेको थियो।

    त्यसलाई राज्य नियन्त्रित सञ्चार माध्यमले “औषधिक्षेत्रको इतिहासमा जादु” भनेर प्रशंसा गरेको थियो। काउफम्यानले भनिन्, “स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो। अन्य स्वास्थ्य क्षेत्रका नर्स र डाक्टरलाई अस्पतालमा ल्याइएको थियो। उनीहरूका लागि स्वास्थ्य मन्त्रालयले नै तयार पारिदिएको सार्सका बिरामी चिन्ने र कसरी छुट्टै राखेर उपचार गर्ने भन्ने निर्देशिका पनि थियो।”

    उनका अनुसार सार्स प्रकोपका बेला उक्त संस्थाको खर्च स्थानीय क्षेत्रबाट जुटाइएको थियो। तर कर्मचारीको तलब र भवन निर्माणका लागि आवश्यक रकमको ठूलो प्रतिशत भने केन्द्रबाट मिलाइएको थियो। उनले भनिन्, “यो उच्च प्राथमिकतामा परेको विषय भएको हुनाले म त्यसको भार वुहान सरकारलाई पर्छ भन्ने कल्पना गर्न सक्दिन।” हुवाङका अनुसार “प्रकोप समाप्त भएपछि उक्त अस्पताल चुपचाप बेवारिसे बनेको थियो।”

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...