देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । दुबई हुँदै अमेरिकाको वाशिङ्टन जान लागेका राजापाक्षेलाई कोलम्बो विमानस्थलका कर्मचारीले उनको देश छाड्ने योजना असफल बनाइदिएका बीबीसीले जनाएको छ ।
देशलाई आर्थिक रूपमा टाट पल्टाएर आफू विदेश जान थालेको भन्दै कर्मचारी र विमानस्थल पुगेका अन्य यात्रुले पूर्व अर्थमन्त्रीको विरोध पनि गरेका छन् । देश चरम आर्थिक सङ्कटमा पर्न थालेपछि गएको अप्रिल महिनामा उनले राजीनामा दिएका थिए ।
बासिलमाथि सन् २०१५ मा भ्रष्टाचारको समेत आरोप लागेको थियो । श्रीलङ्कामा प्रदर्शनकारीले गएको शुक्रवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् ।