News Portal

  • गरे के हुँदैन र ! भक्तपुर नगरपालिकाले ब्युतायो ८ सय वर्षको इतिहास

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ फागुन २०८०
    ८२२ पटक
    भक्तपुर, २५ फागुन २०८०

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित १२औं शताब्दीमा निर्मित ऐतिहासिक भाजु पुखु(पोखरी) र यसको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाले यी पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको हो ।

    शुक्रवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले पुनर्निर्माण गरिएका पुखु र मन्दिरको उद्घाटन समेत गरेका छन् । शिवरात्री र अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पुखु र मन्दिर उद्घाटन गरिएको हो ।

    भाजु पोखरी नाम भएपनि प्रौढहरुले पनि त्यहाँ पानी कहिल्यै देख्न पाएका थिएनन । काठमाडौको रानीपोखरी भन्दा पनि ५ सय वर्ष अघि बनेको भाजु पोखरी लोपोन्मुख अवस्थामा थियो । त्यसको बीचमा रहेको जलेश्वर नाथबारे त स्थानीय नै अनभिज्ञ जस्ता भैसकेका थिए । बीचमा माटोको ढिस्को जस्तो देख्दै आएका वरिपरिका मानिसलाई पनि त्यहाँ जलेश्वर महादेवको मन्दिर थियो भन्ने थाहा हुन सकेको थिएन ।

    १२औं शताब्दीमा बनेको यो सुन्दर संरचना बारे भक्तपुर नगरपालिकाले खोजीनीति मात्र गरेन । विज्ञहरुको अन्वेषणका आधारमा पुनर्निर्माण समेत मौलिक स्वरुपमै गर्न सफल भएको छ ।घासे मैदान र फोहोर फ्याक्ने ठाउँ बन्दै गएको ८ सय वर्ष पुरानो भाजु पोखरी र जलेश्वर मन्दिरले पुनर्जीवन पाएको छ ।

    २२ वर्ष अघि देखि यस लाई सफाई गर्ने प्रयास हुँदै आएपनि नगरपालिकाको वर्तमान नेतृत्वको लगावका कारण पछिल्लो २ वर्ष अघि देखिको मिहिनेतले पूर्णता पाएको देखिन्छ । भाजु पुखु र जलेश्वर मन्दिरको लामो अध्ययन अनुसन्धानपछि मौलिक स्वरुपमा पुनर्निर्माण सम्पन्न गर्न नगरपालिकाले लागत इष्टमेट २ करोड ५१ लाख ७९ हजार ९ सय ९० रुपैंया रहेको अनुमान गरेपनि १ करोड ८७ लाख ३५ हजार ६३४ रुपैयाँमा ६ वटा उपभोक्ता समितिले काम सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

    शुक्रवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले भाजु पुखु मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धी भएको बताए । उनले सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले उदाहरणीय काम गरिरहेकोप्रति सन्तोष व्यक्त गरे । राष्ट्रिय धरोहरका रुपमा रहेका सम्पदाहरुलाई पुर्नजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्ने आवश्यकता औल्याउदै अध्यक्ष बिजुक्छेंले नयाँ पुस्तालाई सम्पदाहरुको ईतिहास थाहा दिलाउनुपर्नेमा जोड दिए ।

    सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेंले जनताले हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै सम्पन्न गर्न सकिने बिश्वास व्यक्त गरे । उक्त अवसरमा उनले भाजु पुखू र जलेश्वर मन्दिर पुनर्निर्माणमा सहभागी सम्पूर्ण डकर्मी, सिकर्मी र महिला कालिगढहरुप्रति पनि आभार प्रकट गरेका छन् ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदा निर्माणमा जस्तै भाजु पुखु पुनर्निर्माणको क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अत्यन्तै सचेततापूर्वक पुनर्निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराए ।

    प्रमुख प्रजापतिले पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने व्यवस्था मिलाइएको प्रष्ट पारे ।

    भाजुपुखु र भक्तपुर क्याम्पस दुबै जनताका साझा सम्पत्ति भएको बताउँदै उनले पोखरीको दक्षिण भाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी नै रहेको उल्लेख गर्दै क्याम्पसका पदाधिकारीहरुसित त्यसबारे पटक पटक छलफल गरिसकेको र छलफलको क्रम अगाडि बढिरहेको बताएका छन् ।

    बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाजु पुखुलाई सुन्दर र मनमोहक अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने वडाबासी, कालिगढ, जनप्रतिनिधि, पुरातत्व विभाग, प्राविधिक सम्पूर्णमा उच्च सम्मान व्यक्त गरे । देशमा चरम भ्रष्टाचार र अनियमितताले जनता आजित बनेको बेला भक्तपुर नगरपालिकाले उज्यालो दियो बनेर आशाको किरण छरिरहेको उनको जिकिर छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त संग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्द्धनमा भक्तपुर नगरपालिकाको भूमिका प्रति सन्तोष व्यक्त गरिन । पोखरीहरुको जगेर्नाले पानीका स्रोतहरु संरक्षण हुने बिश्वास व्यक्त गर्दै उनले भाजु पुखुलाई पर्यटकको आकर्षक गन्तव्यस्थल बनाउन सुझाव समेत दिएकी छन् ।

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भक्तपुरका प्राचिन पोखरीहरु समाजको लागि आवश्यक पानी आपूर्ति र आगलागीजस्ता विपद्मा प्रयोग गर्नको लागि बनेको बताए । भाजु पुखु अरु पुखुको तुलनामा महत्वपूर्ण भएको बताउँदै उनले पोखरीहरु भक्तपुरको सिंचाइ र हिटी प्रणालीसँग पनि जोडिएको जानकारी दिए ।

    उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउनेमा जोड दिंदै पुरातात्विक सम्पदाहरुले भरिएको जीवन्त संग्रहालयको परिचित भक्तपुरलाई ८०० वर्ष पुरानो पोखरी पुनःनिर्माणबाट अझ गौरव गर्ने अवसर मिलेको स्पष्ट पारे ।

    त्यसैगरी इतिहासविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पुखुको ऐतिहासिक पक्षमाथि प्रष्ट पार्दै अन्वेषण र उत्खननकै सिलसिलामा भाजु पुखुको मध्यभागमा पश्चिमाभिमुख जलेश्वर मन्दिर रहेको थाहा हुन आएको उल्लेख गरे । जलेश्वर मन्दिर जीर्णोद्धारको अभावमा भत्किएर दम्फोमा परिणत भएको बताउँदै भाजु पुखुको पुनर्निर्माणसँगै पोखरीको इतिहास पनि जीवित भएको उनको भनाइ छ ।

    कार्यक्रममा पूर्व न्यायाधीश गौरीबहादुर कार्की, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, नगर उपप्रमुख रजनी जोशी, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेल, वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई लगायतले मौलिकता र सम्पदा संरक्षित सहरको रुपमा देश–विदेशमा परिचित भक्तपुरको सांस्कृतिक, सम्पदा संरक्षण अभियान र भाजु पुखुको पुनर्निर्माण कार्य भक्तपुरको लागि गर्व गर्न लायक विषय बनेको बताए ।

    सो अवसरमा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भाजु पुखु पुनर्निर्माणमा अहोरात्र खटिएका महिला श्रमिकहरुलाई सम्मान समेत गरिएको थियो । साथै, भाजु पुखु पुनर्निर्माणका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्षहरुलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ‘भाजु पुखु र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तक विमोचन गरेका थिए । उद्घाटन अगाडि विभिन्न बाजागाजा सहित स्थानीयको ब्यापक सहभागितामा नासमनाबाट शुरु भएको र्याली भाजु पुखुमा आइपुगेपछि सभामा परिणत भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...