News Portal

  • भिजिट नेपालको लागि भक्तपुरको नयाँ कोसेली ३२९ वर्ष पुरानो नगरा यसरी भयो पुनर्स्थापित

    संजीप शुभचिन्तक भक्तपुर, १० पुस
    २७२४ पटक
    भक्तपुर, १० पुस

    दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि निर्देशन दिइरहेका देखिन्थे । प्रायजसो गम्भीर मुद्रामा प्रस्तुत हुने र कमै खुल्ने उनको चेहराको मुस्कानले नगरपालिकाले केहि राम्रै गरेको झल्को दिइरहेको थियो । यत्तिकैमा नगरपालिकाका कर्मचारीले कुर्सी बिछ्याएर उक्त क्षेत्रलाई कार्यक्रम स्थल बनाइदिए र मन्चमा नगरा पुनर्स्थापना कार्यक्रमको ब्यानर टाङ्गियो ।  त्यसपछि थाहाँ भयो, नगरपालिकाले दुई ठूला नगरा नेपाल भ्रमण वर्ष २०२० लाई  लक्षित गर्दै राख्न लागेको रहेछ ।

    पुनर्स्थापित नगरा भक्तपुरको ३२९ वर्ष पुरानो इतिहास

    नगरा मौलिक नेपाली बाजा हो । नगरा पिँध तीखो भएको भिउँट जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजोले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो दमाहा हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । यस बाजालाई डङ्का पनि भन्ने गरिन्छ ।नेपालका विभिन्न जिल्लामा अहिले पनि दसैँ सुरु भएको सङ्केत नगराले गर्छ ।

    तर, भक्तपुरमा बिहीवार जुन नगरा राखियो यो आम नगरा भन्दा पृथक भएको बताइएको छ । ३२९ वर्ष अघि भक्तपुरका तत्कालिन राजा जितामित्र मल्लले स्थापना गरेको नगरा समय क्रम संगै बेवारिसे बनेपछि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको पहलमा यसलाई पुन स्थापित गरिएको रहेछ । मानव जीवनलाई इतिहासको नासो मान्ने हो भने मेयर प्रजापतिको मुस्कानको राज नगरा होइन, यसको ऐतिहासिकता हो भन्ने बुझ्न धेरै कुर्नु परेन ।

    राजा जितामित्र मल्लले भक्तपुर राज्यमा वि.सं. १७२० देखि १७५३ सम्म शासन गरेको मानिन्छ । उतिबेला जनतालाई सुसूचित गर्न उनले नगरा स्थापना गरेका थिए । राज्यले जनतालाई नगरा बजाएर सूचना प्रवाह गर्ने प्रचलन थियो । जितामित्र मल्लले स्थापना गरेको नगरा उतीबेलाको संचारको प्रमुख माध्यम रहेको पाइन्छ । आजको रेडियो, टेलीभिजन र इन्टरनेटको जमानामा यो कुरा कथा जस्तो लागे पनि नगराको प्रत्यक्ष अवलोकनले उतीबेलाको इतिहास बुझ्न नयाँ पुस्तालाई प्रेरित गर्ने र पर्यटकलाई समेत यसले आकर्षित गर्ने नगरपालिकाले विस्वास लिएको कार्यक्रममा बताइएको छ ।

    जर्मन नागरिकको लौरोले पुनर्स्थापित भयो प्राचिन नगरा

    ७ महिना अघि नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्ना केन्द्रीय सदस्य सुनिल प्रजापतिलाई कमलविनायकस्थित निजी निवासमा बोलाए । त्यहाँ बिजुक्छेसंगै जर्मन नागरिक डा वेग्नर पनि बात मारिरहेका थिए । प्रजापति पुग्नासाथ वेग्नरले दुईवटा लौरो थमाउदै प्राचिन नगराको बारेमा बताए । जब प्रजापतिले थाहाँ पाएकी उनका पार्टी अध्यक्ष बिजुक्छेले उनलाई राजनीतिक कारणले नभई नगर प्रमुखको रुपमा नगराको अवस्थाबारे बुझ्न बोलाएका थिए । प्रजापति पानीपानी भए ।

    आफू नगरपिता भएपनि आफ्नो नगरको ऐतिहासिक नगराको बारेमा जर्मन नागरीकले देखाएको चासो र चिन्ताले उनलाई थप उर्जा प्राप्त भयो । कला र सस्कृतीलाई पूर्खाले आर्जेको सम्पति मानी जगेर्ना गर्दै आएको नगरपालिकालाई ऐतिहासिक नगराको संरक्षण गर्ने कुरा ढुंगा खोज्दा देउता मिले झैँ भयो र नगर प्रमुख प्रजापतिले त्यसैदिन अध्यक्ष बिजुक्छेलाई साक्षी राख्दै नगरा पुनर्स्थापित गर्ने प्रण गरेको आजको कार्यक्रममा खुलासा गरे ।

    यसरी भेटियो ठाउँ

    पुरातत्वविद समेत रहेका जर्मन नागरिक डा वेग्नर भक्तपुरलाई माया गर्ने मान्छे हुन् । उनले यहाँको धिमे बाजाबारे पीएचडी नै गरेका छन् भने कला र सस्कृतीबारे आफना पुस्तकमा धेरै वर्णन समेत गरिसकेका छन् । उनै वेग्नरले जितामित्र मल्लको पालाको नगरा बजाउन लौरो (गजो) समेत दिए पछि नगरप्रमुख प्रजापतिले यो पत्ता लगाए की नगरा तलेजुको मन्दिरमा छ । पुरानो र प्वाल परेको अवस्थामा भेटिएको नगरालाई उनले मरम्मत गर्न लगाए । जितामित्र मल्लले नगरा पचपन्न झ्याले दरवार अघि रहेको लामो सत्तल (ताहा: फल्चा)मा राखेका रहेछन । तर, त्यो ७२ सालको महाभूकम्पले भत्किएपछि पुनर्निर्माणको प्रक्रियामा रहदा पुनर्स्थापनामा केहि ढिलाई भएको नगरप्रमुख प्रजापतिले जानकारी गराए ।

    नगरा पुनःस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ३२९ वर्ष पुरानो नगरालाई पहिलेकै ठाउँमा पुनःस्थापना गरिएको बताए । एक विशेष कार्यक्रमका बीच नगरपालिकाका कर्मचारी, स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको समेत सहभागीतामा ताहा सत्तल (तबा सत्तल) को पहिलो तल्लाको पश्चिमी भागमा सुरक्षित रुपमा दुवै नगरा पुनःस्थापना गरिएको उनको भनाइ छ ।

    नगरा भिजिट नेपालको लागि भक्तपुरको नयाँ कोसेली
    नेपाल सरकारले बीस लाख पर्यटक भित्राउने उदेश्य साथ् सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईले उपत्यकाका स्थानीय सरकार प्रमुखहरुलाई डाकेर यसको स्थानीय स्तरमा तयारीबारे जानकारी लिएका थिए । त्यसमा भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले लोपोन्मुख सम्पदाहरूको पुनःनिर्माण र संरक्षण कार्यलाई प्राथमिकताका साथ् अघि बढाईएको बताएका थिए ।

    बुधवार मन्त्री समक्ष बचनबद्धता गरेका प्रमुख प्रजापतिले बिहीवार नै बैठक बोलाए । बिहीबार नगरपालिकाले ३२९ वर्षे नगरालाई भिजिट नेपाल २०२० को लागि भक्तपुरको नयाँ सम्पदाको रुपमा पुन:स्थापित गर्ने मात्र नभई संरक्षण समेत गर्ने निर्णय लिएको नगरप्रमुख प्रजापतिले प्रष्ट पारे । यसलाई बिहीवार बिहान पुनर्स्थापना गर्ने निर्णय लिएको नगरपालिकाले दिउसो उक्त कार्य सम्पन्न गरेको छ भने यसको संरक्षण र प्रवर्द्धनका लागि बजेट नै छुट्टाएर नगरा बजाउने कलाकारको समेत व्यवस्था गर्ने बताइएको छ ।

    इतिहासविदद्वारा नगरपालिकाको प्रसंशा
    ३२९ वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको नगरालाई पुनर्स्थापित गरेर भक्तपुर नगरपालिकाले इतिहासका लागि नाम लेखाएको भन्दै संस्कृतिकविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले प्रसंसा गरे । दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले नगरा पुनर्स्थापना कार्य हेर्दा सानो जस्तो लागेपनि यसको ठूलो ऐतिहासिक महत्व भएको भन्दै यस विषयमा पर्यटकलाई जानकारी दिनु पर्नेमा जोड दिइन ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी लगायत जनप्रतिनिधिहरू, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, पुरातत्व विभागका पुरातत्व अधिकृत मोहनसिंह लामा, प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गणका मेजर लेनिन रोक्कामगर, इतिहासविद् प्रा. विश्वमोहन जोशी, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला समेत अतिथिको रुपमा उपस्थित रहेका थिए । नगरा पुनर्स्थापना कार्यक्रमका संचालक वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापति लगायत सबै अतिथिलाई नगरा बजाउन लगाउदा दरवार क्षेत्रमा नयाँ उमंगको संचार भएको थियो, जसलाई कैद गर्न पर्यटकहरु पनि क्यामेराका लेन्समा लालायित नजर दौडाइरहेका देखिन्थे ।

     

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...