News Portal

  • खन्ने र भत्काउने काम हुँदैन: प्रमुख लवभक्त श्रेष्ठ

    भक्तपुर, १४ पुस
    ११४४ पटक
    भक्तपुर, १४ पुस

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो, दशरथ रंगशाला। सो रंगशाला गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)बाट मात्र सञ्चालन आयो। मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला क्षतिग्रस्त हुँदा नेपाली खेलकुद नै लामो समयसम्म प्रभावित बन्यो।

    दशरथ रंगशालामा प्यारापिट, सेन्थेटिक ट्र्याकलगायतका संरचना राष्ट्रिय खेलकुद परिषद् (राखेप) र फुटबल मैदान अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्माण गरेको थियो। यही मैदानमा १३औं सागअन्तर्गत पुरुष फुटबलका खेल सञ्चालन भएको थियो।

    दशरथ रंगशालाको पुनर्निर्माण समयमा नहुँदा विश्वकप छनोट फुटबलअन्तर्गत गत मंसिर ३ गते पूर्वनिर्धारित कुवेतविरुद्धको खेल भुटानमा सार्नु परेको थियो। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले दशरथ रंगशालाको अवस्था खेल्नलायक नभएको भन्दै अनुमति नदिएपछि भुटानमा खेल सारिएको थियो।

    लाखौं रुपैयाँको लगानीमा तयार पारिएको फुटबल मैदानमा पछिल्लो समय सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन हुँदै आएको थियो। सागका लागि रातारात गरेर पुनर्निर्माण गरिएको दशरथ रंगशालाको फुटबल मैदान र सिन्थेटिक ट्र्याक फेरि खेलकुद बाहिरको कार्यक्रम गरेर भत्काउने क्रम सुरु भएको छ।

    बुधबार ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभारम्भ गर्न दशरथ रंगशालाको खेलमैदानमै मञ्चलगायतका विभिन्न संरचना निर्माण थालिएको छ। सरकारले १० लाख मानिस उतारेर रंगशालाबाट नेपाल भ्रमण वर्ष सुरु गर्ने घोषणा गरेको छ। जसले गर्दा लाखौं खर्चिएर लामो समयपछि बनेको मैदान बिग्रिने चिन्ताले धेरैलाई सताएको छ।

    राज्यकै कार्यक्रमका लागि दशरथ रंगशाला दिए पनि फुटबल मैदान र सिन्थेटिक ट्र्याक बिग्रिने हो कि भन्ने चिन्ता लागेको राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बताए। ‘युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार रंगशाला दिएका हौं’, उनले भने, ‘भर्खरै बनेका संरचना बिग्रिने हो कि भन्ने चिन्ता लागेको छ।’ उनले एन्फासँग समन्वय गरेर रंगशाला दिइएको बताए।

    राखेपकै सामान्य प्रशासन विभाग प्रमुख लवभक्त श्रेष्ठले मैदान नबिगार्ने सर्तमा एक दिनलाई नेपाल भ्रमण वर्ष उद्घाटनका लागि दिइएको बताए। ‘रंगशालाका कुनै पनि संरचना नबिगार्ने सर्तमा दिएका हौं’, श्रेष्ठले भने, ‘सामान ल्याएर फिट गर्ने काम मात्र हुन्छ। खन्ने र भत्काउने काम हुँदैन।’

    राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले भने रंगशाला कसलाई कुन प्रयोजनका लागि दिइएको हो भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘रंगशाला कुन प्रयोजनका लागि कसलाई दिइएको भन्ने कुरा मलाई जानकारी छैन’, उनले भने।

    सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन समितिका संयोजक सञ्जीव मिश्रले वर्षौं लगाएर बनाइएको रंगशाला र मैदान फरक कार्यका लागि प्रयोग गर्दा बिग्रिने चिन्ता लागेको बताए। ‘भिजिट नेपाल कार्यक्रममा लागि राखेप, नेपाल पर्यटन बोर्ड, अखिल नेपाल फुटबल संघ (एन्फा) र कार्यक्रम व्यवस्थापकसँग छलफल गरी मैदान नबिगार्ने सर्तमा दिइएको छ।

    सोही कारण लिगका खेलहरू एन्फा मैदान सातदोबाटोमा सारिएको हो। मैदान खन्ने र त्यहाँ पोल गाड्ने काम गरियो भने त्यसको असर विश्वकप छनोटका आगामी खेललाई पर्नेछ। खर्चका हिसाबले पनि मैदान तयार गर्न आर्थिक लगानी र दैनिक २५ जना कामदार चाहिन्छ। एक दिनको रमाइलोले दीर्घकालीन असर पर्ने काम गरिनुहुन्न भन्ने हाम्रो चाहना हो’, मिश्रले भने।

    विश्वकप छनोटअन्तर्गत नेपालले दशरथ रंगशालामा अझै तीनवटा खेल खेल्नु पर्नेछ। नेपालले चाइनिज ताइपेईसँग सन् २०२० को मार्च २६, जोर्डनसँग सन् २०२० को जुन ४ र अस्ट्रेलियासँग दोस्रो खेल सन् २०२० को मार्च ३१ तारिखमा खेल्नेछ।

    दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेर आयोजना हुने नेपाल भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। उद्घाटन कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसँगै परेड पनि सञ्चालन हुनेछ। फुटबल मैदानमा हुने यस्ता कार्यक्रमले भर्खरै लगाएको दुबो नष्ट हुनुका साथै सिन्थेटिक ट्र्याक पनि बिग्रिन सक्छ।

    भ्रमण वर्षको उद्घाटनका लागि दशरथ रंगशालामा स्टेजलगायतका संरचना निर्माण गरिँदै।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...