डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजना गरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्र विश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् । संसारमा प्रजातन्त्रको एउटा मात्र सार्वभौम उत्तर पाउन सकिदैन । शक्तिको आडमा गरिने प्रजातन्त्रको परिभाषा र व्यवहारमा लागु भइरहेको परिभाषा फरक छ । राजनीतिक दर्शन र राजनीतिक अभ्यासमा हुने प्रजातन्त्र फरक छ । यसबारे लामो समयदेखि बहस हुँदे आएको छ । प्लेटोको काल होस् वा एरिस्टोटलको काल होस् अथवा नेपालमा पञ्चायती प्रजातन्त्रदेखि अहिलेसम्म प्रजातन्त्रकै विषयमा बहस भइरहेका छन् । पाश्चात्य दर्शन वा पूर्विय दर्शन सबैतिर यसको आ–आफ्नै परिभाषा पाइन्छन । अहिले पनि विभिन्न किसिमका प्रजातन्त्र र मानवअधिकारका मानकहरु छन् । फ्रान्सेली राज्य क्रान्तिले समानता, भातृत्व र स्वतन्त्रताको अवधारणा ल्यायो । त्यसैगरी अमेरिकी स्वतन्त्रता संग्रामले जनताका नैसर्गिक अधिकारमा जोड दियो । मान्छे भन्दा ठूलो अरु केही पनि भन्ने कुरा त्यसबाट आयो । अर्थतन्त्रको विकास, सामाजिक अभ्यासको विकास र प्रविधिको विकासले गर्दा विश्वलाई हेर्ने बुझ्ने र व्यवहार गर्ने फरक–फरक दृष्टिकोण आए । फान्सेली राज्य क्रान्ति पछाडि समाजमा एउटा नयाँ चेतना छिर्यो । त्यसपछि समाजवादी धाराको विकास भयो । समाजवादी धारामा प्रजातन्त्रले लेख्ने, बोल्ने मात्र नभई समान रुपमा बाँच्न पाउने के हो भन्ने बहस सिर्जना ग¥यो । पुँजीको वितरणका पुँजीको विकाससँगै खाना, मानवअधिकार र प्रजातन्त्रलाई पनि जोडियो । केही मानिसको हातमा मात्र पुँजी हुने र अरु सबै चिच्याउनु पर्ने स्थिति के मानवअधिकार हो, प्रजातन्त्र हो भनि प्रश्नहरु उठ्न थाले । त्यसपछि समाजवादी धारा पनि दुई भागमा विभाजित भयो । एउटा धारा उदार समाजवादी धाराका रुपमा आयो । अर्कोतिर राज्यको दायित्व सबै जनताप्रति हुनुपर्छ, राज्य व्यवस्थापक मात्र नभइकन अभिभावक पनि हो भन्ने बहस सुरु भयो । मानव केन्द्रित चिन्तन हुनुपर्दछ भन्ने साम्यवादी विचारधारा विश्वमै सुरु भयो । सन् १९१७ देखि यो बहस व्यवहारिक रुपमा आयो । पहिले सोभियत रुसमा त्यसको प्रयोग भयो र संसारभरी कान्तिकारी विचारधाराको विकास भयो ।
सन् १९५० देखि नै अमेरिका मानवअधिकार र प्रजातन्त्रको सर्टिफिकेट दिने देश बनेको छ । कुन देशमा प्रजातन्त्र छ र कुन देशमा प्रजातन्त्र छैन भन्ने कुराको प्रमाण पत्र अमेरिकाले नै वितरण गरिरहेको छ । अहिलेको समयमा शक्तिले नै मानवअधिकार र प्रजातन्त्रको परिभाषा गर्दछ । उदार प्रजातन्त्रवादी धारा कमजोर बन्दै गयो । पुँजी र प्रविधि कब्जा गरेपछि उनीहरु राजनीतिमा अगाडि आए । उनीहरुले कर्पोरेट प्रजातन्त्रका नाममा देखा परे । ग्लोबलाइजेशन, लिवरलाइजेशन र प्राइभेटाइजेशन भन्ने नयाँ धारा आयो । ३०० वर्ष पहिले बाबरको कालमा विश्वको पहिलो आर्थिक शक्ति चीन थियो, दोस्रो शक्ति भारत थियो । त्यसपछिको अवधिमा शक्ति युरोपमा केन्द्रित भयो । युरोपमा दार्शनिक, आर्थिक राजनीतिक, सांस्कृतिक आन्दोलनहरु भए । पछि आक्रामक पुँजीवादीहरुको हातमा केही ठूला देशको राजनीति गयो । फासिवादको जगजगी आयो ।
यसपटक यही डिसेम्वर ९ र १० का दिन विश्व प्रजातन्त्र समिट हुँदैछ । समिटमा विश्वका ११० देशलाई निम्ता गरिएको छ । निम्ता गरिएका सहभागी देशहरुलाई हेर्दा यो अमेरिकन परिभाषा भित्रको सम्मेलन हो । यस सम्मेलनमा ती देशहरु जो अमेरिकाको रणनीतिक साझेदार छन् र आउँदा दिनहरुमा हुन सक्ने स्थितिमा छन्, तीनलाई मात्र बोलाइएको छ । उनीहरुभन्दा अरु कसैलाई पनि बोलाइएको छैन । इराक, भारत, फिलिपिन्स, इजरायल जस्ता देशहरु निम्त्याईएका छन् । यद्यपि ती देशमा प्रजातन्त्रको स्तर अत्यन्त कमजोर छ । बंगलादेश र श्रीलंकालाई पनि निम्तो गरिएको छैन । तर, पाकिस्तानलाई निम्तो गरिएको छ । यसबाट स्पष्ट हुन्छ कि अमेरिकाको आँखा र स्ट्यान्डार्डमा पर्न सक्ने सम्भावना र अमेरिकासँग रणनीतिक साझेदारी गर्न तयार हुने देशहरुलाई मात्र निम्ता गरिएको छ । अमेरिकासँग साझेदारी गर्न नसक्ने देशहरुलाई यस सम्मेलनमा निम्ता छैन । भारतलाई यो सम्मेलनमा सहभागी हुन निम्तो गरिएकोमा भारतीय मूलका अमेरिकीहरु र अमेरिकी प्रजातन्त्र प्रेमीहरुले विरोध जनाएका छन् । भारतको आन्तरिक प्रजातन्त्र अत्यन्त न्यूनस्तरमा रहेको भन्दै उनीहरुले यो समिटमा भारतलाई निम्ता गर्न नहुनेमा जोड दिएका छन् । उनीहरुले भारतमा घृणाको राजनीति फैलाइएकोले यो देश प्रजातन्त्रको मानकमा जान सक्दैन भनेर दावी गरेका छन् ।
अमेरिकाले प्रजातन्त्रका लागि आफ्ना ३ वटा मापदण्ड निर्धारण गरेको छ । अमेरिकन परिभाषा र अमेरिकासँग सहकार्य गर्ने सत्ता, भ्रष्टाचार विरुद्धको उसको अवस्था र मानवअधिकारको रक्षाको अवस्था । तर, महत्वपूर्ण कुरो के छ भने अमेरिकाले इजरायललाई हरेक कोणबाट सहयोग गरिरहेको छ । अमेरिकामा रहेका प्रवासीहरु प्रतिको व्यवहार, त्यहाँका आप्रवासी र कालाजातीप्रतिको घृणाको राजनीतिले अमेरिकाको प्रजातन्त्र र मानव अधिकार छताछुल्ल हुन्छ । प्रजातन्त्रको बारेमा अमेरिकाको जुन व्याख्या छ, त्यो केवल शक्तिको परिभाषा हो भन्ने यी उदाहरणले पुष्टि गर्छन ।
अहिले विश्वमा शक्तिहरु एकबाट अर्कोतिर गइरहेको देखिन्छ । आगामी समयमा विश्वशक्ति एक ठाउँमा मात्र हुनसक्ने सम्भावना देखिदैन । यसअघि जुन बहुध्रुवीय समाज थियो, त्यो १९९० पछि एक ठाउँमा आयो । त्यसपछि अमेरिकन थिंकट्यांकहरुले यसलाई दुईवटा कोणबाट लिए । ती सबै थिंकट्यांकहरु अमेरिकी सत्ताका नजिकका थिए । स्यामलटन हेमलपीनले भने, अबको संसारको जुन अन्तरविरोध हो, लडाई हो, क्राईसेस अफ सिभिलाईजेसन हो, त्यो सभ्यताबीचको टकराहट हो । त्यो विचारको टकराव होइन, शक्तिको टकराव होइन । अरु विषय गौण हुन । १९९० मै फ्रान्सिस फुकोयामा, जो अमेरिकी सरकारका बुद्धिजीवी हुन्, ले ईन्ड द हिस्ट्री एण्ड द लास्ट म्यान भन्ने पुस्तक लेखे ।
पछिल्लो समय विश्वको नम्बर एक अर्थतन्त्रको रुपमा चीन उदाएको छ । विश्व आर्थिक शक्तिको पहिलो नम्बर चीन हो भनेर स्वयम अमेरिकी विशेषज्ञहरुले भनेका छन् । अमेरिकी विदेश मन्त्रालय पेन्टागनका एक कर्मचारीले लेखेका छन्, “सफ्टवेरको पावरमा जुन विकास चीनले गरिरहेको छ, त्यसले सामरिक हतियारदेखि लिएर अन्य क्षेत्रलाई पनि प्रभाव पार्छ र यसले अमेरिकालाई पनि उछिन्दैछ ।”
यसका साथै विश्वको एक शक्ति चीनको यो तीब्र विकासलाई कसरी रोक्ने भनेर सोचिरहेको छ । त्यही एजेण्डामा विश्वभर छलफल चलाइरहेको छ । पहिलेको ५ प्रतिशत भन्सार दर अहिले बढाएर ३० प्रतिशत पुयाइएको छ । यी सबै कुराले विश्वमा एउटा मात्र शक्ति अब रहेन भन्ने कुरा स्पष्ट पारेको छ । आफ्नो शक्ति विस्तार गर्ने, नयाँ एलायन्स अर्थात गुटहरुको निर्माण गर्नुपर्ने अवस्था आउँछ । इन्डो प्यासिफिक स्ट्राटेजी, एमसीसी त्यसकै एक उदाहरण हो । इन्डो प्यासिफिक र एमसीसी जस्ता परियोजनालाई अमेरिकाले संसारलाई नियन्त्रण गर्ने उपकरणका रुपमा लिएको छ । अहिले त युद्धका लागि उत्तेजित गर्ने कामहरु भइरहेका छन् ।
चाईना एण्ड पावर च्याप्टर अफ द हिस्ट्री इन्टरकोर्स विथ द भन्ने एउटा किताव छ । यो किताव सन् १९०२ मा प्रकाशित भएको थियो । यो किताव जम्मा ५५ प्रति मात्र प्रकाशित गरिएको थियो । अमेरिकीहरुको सुरक्षायन्त्रको लागि अथवा सुरक्षा निकायको लागि । त्यो कितावमा चीन महाशक्ति बन्ने लक्ष्यका साथ अघि बढेको छ भन्ने उल्लेख गरिएको छ । जबकि त्यतिवेला चीनलाई साम्राज्यवादी देशहरुले ५ टुक्रामा विभाजन गरेका थिए । यो पुस्तक लेखिएका बेला रसियन क्रान्ति पनि सम्पन्न भएको थिएन । चीनमा कोमिन्ताङ पार्टी नै जन्मेको थिएन, चिनियाँ कम्युनिस्ट पार्टी त धेरै पछि जन्मियो । यसरी आजभन्दा एक शताब्दी पहिले १९०२ मै एक आयरल्याण्डको लेखकले चीन महाशक्ति बन्न सक्छ भन्ने किताव लेखेका थिए ।
यसबाट भन्न सकिन्छ कि आजभन्दा ११९ वर्ष पहिले नै अमेरिकनहरुले चीनको बारेमा प्रेडिक्सन गरिसकेका थिए । तर, त्यतिबेलादेखि नै अमेरिकाले चीनलाई रोक्न आफ्ना सहयोगी देश अर्थात नजिकका पाटनरहरु खोज्न थालेको हो । त्यसपछि नै अमेरिकाले अष्टेलिया, जापान, दक्षिण कोरिया, भारत, फिलिपिन्सलाई राखेर क्वाड बनायो । कुनै हालतमा पनि आफ्नो हेजोमोनी कायम गर्न लागेको छ । मानविय सम्वेदनालाई रक्षा गर्नुभन्दा पनि सुरक्षा संयन्त्रलाई मजबुत बनाउन अमेरिका लागेको छ । चीनलाई एउटा डरका रुपमा प्रस्तुत गरेर त्यसका विरुद्ध संसारभर घृणा फैलाउन अमेरिका लागेको छ । कतै जातिका नाममा, कतै धर्मका नाममा, कतै भाषा र मानवअधिकारका नाममा, कतै संस्कृतिका नाममा अमेरिकाले अरुका विरुद्ध नकारात्मकता फैलाउन अभियान छेडेको छ । अरुका विरुद्ध कसरी आवेग तयार गर्ने भन्ने ढंगबाट प्रयासहरु भइरहेको छ । उदाहरणका लागि क्वाडलाई लिन सकिन्छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अहिले फेल भएको छ । यो समिटमा हंगेरी, टर्की जस्ता देशलाई बोलाईएको छैन । यसले देखाउँछ कि अमेरिकासँगका पुराना सम्बन्धहरु केही देशले तोडिरहेका छन् । अमेरिकाको रणनैतिक साझेदार फ्रान्सले धेरै ठूलो संख्यामा जहाज अष्ट्रेलियालाई बेच्नुपर्ने थियो, तर अमेरिकाकै दवावका कारण त्यो सम्झौता रद्द भयो । त्यो सामान्य घटना थिएन । अमेरिका र फ्रान्सको मित्रतामा ठूलो धक्का थियो । फ्रान्स र जर्मन अब अमेरिकाको हेजेमोनीमा रहन नसक्ने संकेत दिइरहेका छन् । त्यसैले हरेक उत्तेजना र आवेगलाई सम्बोधन गर्न अमेरिकालाई नयाँ पार्टनरहरु चाहिएको छ । त्यसका लागि अमेरिका अहिले प्रजातन्त्र र अप्रजातन्त्रको नामबाट नयाँ गुटहरुको निर्माण गरी गरिरहेको छ ।
तिमी जहाँ लड्दैछौं युद्धका लागि चाहिने खजना र सिपाही त्यही तयार पार भन्ने अमेरिकी रणनीति हो । अमेरिका जहाँ पनि युद्धका चरित्र अनुसार नै अघि बढिरहेको छ । उसले इराक युद्धमा पनि त्यहाँका राष्ट्रपति सद्दाम हुसेन विरुद्ध नक्कली तर्कहरु पेस गर्यो । त्यहाँ मिडियालाई प्रयोग गरियो, त्यसपछि अरबी–अरबीहरुबीच लडाई लडाईयो । पछि इराकमै सिया र सुन्नीका बीच युद्ध लडाईयो । त्यसैले अमेरिकाको रणनीति नै युद्ध लड्नु भन्दा पहिले नै त्यहाँ द्वन्द्व सिर्जना गराउने, त्यो देशका आफुलाई सहयोग गर्ने शक्तिलाई पकेटमा राख्ने । रामायणमा जसरी रावणका विरुद्ध उनकै भाइ विभिषणलाई लडाईयो । बालीका विरुद्ध सुगृवलाई लडाइयो । त्यसरी नै अमेरिकाले प्रयास गरिरहेको छ । ओपन सोसाईटी फाउन्डेसन नामक आइएनजिओ, जो आफुलाई प्रजातन्त्रको रक्षक भन्छ, त्यसले आफु मार्फत अरुलाई लडाउनको लागि वातावरण तयार गर्छ । अहिले चीन र भारतवीच मणीपूर, दोक्लाम र लद्दाखमा जुन द्वन्द्व भइरहेको छ, त्यो भारत भर्सेज चीनको मात्र होइन । भारतको रणनीतिक साझेदार चीन भैसकेपछि यो स्थितिको विकास भएको हो । १९५२ को चीन भारत युद्धपछि यस्ता लडाईहरु भएकै थिएनन् । यी सबैको पछाडीको एउटै उद्देश्य भनेको, ‘मेरो लडाइँ पनि अरुले नै लडिदेओस भन्ने हो ।’
नेपाल दुईवटा ठूला देश, ठूला अर्थतन्त्र भएका छिमेकीको बीचमा छ । हाम्रो देश बन्दरगाहसँग जोडिएको छैन । यहाँ धेरै ठूला युरेनियमका खानी पनि छैनन । तर, पनि किन नेपालको महत्व छ त ? यो दुई ठूला देशहरुबीच रहेको भूगोल हो । हिमालयन क्षेत्रमा यति सम्वेदनसील भूगोल पश्चिमाहरुका लागि अन्त कतै छैन । नेपालको चीन र भारतजस्ता उदाउदा महाशक्तिसँग सीमा जोडिएको छ । चीनको सीमा १४ वटा देशसँग जोडिएको छ । सीमा जोडिने देशमध्ये सबैभन्दा सम्बेदनसिल भूगोल भएको देश नेपाल हो । भुटान भारतीय रक्षा क्षेत्र भित्रै छ । त्यसलाई स्वतन्त्र भन्न सकिन्न । दोक्लम भूटानी क्षेत्र हो । तर, त्यहाँ चीनसँग द्वन्द्व भयो । नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो । विगतमा नेपालले खम्पा विद्रोह व्यहोरीसकेको छ । अहिले पनि यहाँ धर्मका नाममा भइरहेका गोप्य गतिविधिहरु, आइएनजीओका नाममा भइरहेका गतिविधिहरु, नेपाल र यहाँको मानवअधिकारको लागि मात्र भइरहेको छैन ।
त्यसैले नेपाली जनताले वा समग्र राज्यसत्ताले सोच्ने भनेको हाम्रो विदेश नीतिको आधारमा हो । हाम्रो प्रतिवद्धता भनेको असंलग्न परराष्ट्र नीति हो । सबै छिमेकी र विश्वका सबै राष्ट्रहरु हाम्रा मित्र हुन । कोही पनि दुश्मन छैनन् । त्यसैले हामीलाई शान्तिसँग बस्न देउ भन्नुपर्छ । हामीलाई शान्तिसँग विकास गर्न देउ, चीनको पनि होइन, भारतको पनि होइन, कसैको पनि दलालको रुपमा सिर्जना नगरिदेउ भन्नुपर्छ । असंलग्न नै हाम्रो परराष्ट्र नीति हो । हामी हाम्रो भूभागहरुमा चीन विरोधी गतिविधी र भारत विरोधी गतिविधी गर्न दिनुहुँदैन । दुई वटा वयस्क हात्ति लड्दाखेरी आखिर तोरीबारी मात्रै नास हुन्छ । हामी यस विषयमा सचेत, सजग र सम्बेदनशिल रहनुपर्छ । अन्तराष्ट्रिय रुपमा पनि हामी कुनै गुटमा छैनौं भनेर अपिल गर्नुपर्छ । न क्वाड, न नेटो, न एमसीसी कुनै पनि रणनीतिक गुटमा नेपाल हुनुहुन्न । कुनै विशुद्ध विकासको परियोजना छन् भने त्यसमा सम्लग्न हुनु ठीक छ । तर, रणनीतिक गुटमा कहिल्यै सम्लग्न हुनुहुन्न । असम्लग्नताको सिद्धान्तलाई हामी मन, वचन र कर्मले पूरा गर्नुपर्छ । यो सन्देश दियो भने हाम्रो सार्वभौम सत्ता, राजनीति, संस्कृति र पहिचान मजबुत रहन सक्छ । तर, हामी एउटाको पक्षमा लाग्यौ भने नेपाल युद्ध क्षेत्रमा बदलिन सक्छ । संसारका धेरै देश अहिले पनि अन्तराष्ट्रिय युद्ध अभ्यास र भिडन्तको थलो बनेका छन् । अफगानिस्तान, लेवनान, सुडान त्यही भइरहेका छन् । यी विषयलाई सार्क जस्ता द्विपक्षीय सहयोगका फोरमहरुमा यी विषयमा छलफल गर्नुपर्छ । असंलग्नताको सिद्धान्तलाई फेरी पनि मन, वचन र कर्मले पूरा गर्नुपर्छ । हामीले यो डेमोक्रेसी समिटमा यही सन्देश दिनु उचित हुन्छ ।
(लेखकसँग गरिएको कुराकानीमा आधारित)