भक्तपुर, २५ भदौं २०७९ सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तिलमिलाएको देखिन्छ । आफू एक्लै चुनाव लड्न सक्ने जिकिर गरिरहे पनि एमाले नेताकार्यकर्ताको निराशा सार्वजनिकरुपमै छताछुल्ल हुँदै आएको छ ।
शुक्रवार भक्तपुरमा आफ्ना कार्यकर्तालाई ढाडस दिन नेकपा(एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका सांसद महेश बस्नेतले आफ्नै कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर प्रचार समेत गरेका छन । आगामी निर्वाचनमा समेत संघीय सांसदको उम्मेदवार बन्ने तयारी गरिरहेका सांसद बस्नेतले शनिवार आफू इन्चार्ज रहेको युवा संघ नेपालको बागमती प्रदेश स्तरीय अधिवेशनलाई भक्तपुरमा उद्घाटन गर्दै एमाले कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सूर्यविनायक ९ बाट दर्जनौ माओवादीका युवा भित्राएको दावी गरिएको उक्त कार्यक्रममा आफ्नो वडाबाट कोही पनि एमाले प्रवेश नगरेका माओवादी केन्द्रका वडाध्यक्ष दिपेन्द्र बेन्जुले बताए । उक्त कार्यक्रममा माओवादीका भनिएका युवाहरुको सामाजिक संजाल हेर्दा यस अघि नै एमालेको युवा संघ नेपालमा जिम्मेवारी बहन गरिरहेका कार्यकर्ता पुष्टि भएको छ । एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेत, संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, पार्टीका जिल्ला अध्यक्ष बचन देउजा लगायतले भक्तपुरको सल्लाघारीमा आयोजित युवा संघ नेपालको कार्यक्रममा व्यवसायी किरण थापाको पहलमा युवाहरुलाई पार्टी प्रवेश गराएका थिए ।
नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालको भक्तपुर संयोजक नरेश रन्जितले जनप्रतिनिधि नै भैसकेका एमालेका जिम्मेवार नेताले आफ्नै कार्यकर्तालाई माओवादी केन्द्रका भन्दै पार्टी प्रवेश गराउनु अनुचित भएको आरोप लगाए । उनले भक्तपुरमा माओवादी केन्द्रका कुनैपनि युवा एमालेमा प्रवेश नगरेकाले भ्रमपूर्ण प्रचारबाजी नगर्न चेतावनी समेत दिएका छन ।
यस अघि गत चैतमा पनि भक्तपुरमा २२ हजार माओवादी एमाले प्रवेश गर्ने भनिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न जिल्लाबाट ४ वटा बसमा ल्याइएका करिब २ सय मानिसलाई मात्र पार्टी प्रवेश गराएर चित्त बुझाएका थिए । उक्त पार्टी प्रवेशको प्रवन्ध भने बिबादित व्यवसायी दुर्गा प्रसाईले मिलाएका थिए ।
हेर्नुस खबर
भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित
शुक्रवार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश प्रथम अधिबेशनबाट सुरेन बिक्रम य़ोञ्जनको नेतृत्वमा प्रदेश युथ फोर्स चयन गरिएको छ । उक्त अवसरमा राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको उपसचिवमा चाँगुनारायणका नेता राजेश खड्का पनि चयन हुन सफल भएका छन् ।