News Portal

  • भक्तपुर नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड शुरु, ४५ विद्यालयका ७ सय ५० विद्यार्थी सहभागी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ पुस २०८०
    ८३५ पटक
    भक्तपुर, ११ पुस २०८०

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धा र सामुहिक भावनाको बिकास गराउदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुदहरुको नियमित प्रशिक्षण, प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रमलाई जोड दिँदै आएको प्रष्ट पारेका छन् ।

    खेलकुद प्रतियोगिताहरु औपचारिकतामा मात्रै सीमित हुन नहुने बताउँदै उनले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताए । खेलाडीले देश र समाजप्रतिको आफ्नो दायित्वलाई कहिल्यै बिर्सन नहुने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई अनुशासित र मर्यादित बनाउन खेलकुदको निकै ठूलो भूमिका रहने जिकिर गरे ।

    प्रतियोगिता ३ दिनसम्म चल्ने भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जनाएका छन् । राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा प्रतियोगिता हुने उनले अवगत गराए ।

    प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयहरु र ७५० जना विद्यार्थीहरुको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद संयोजक खत्रीले जनाएका छन् । बिहान ८ बजेबाट सहिदस्मृति खेलमैदानमा भलिबल र कबड्डी खेल, पुस १२ गते माहेश्वरी खेलमैदानमा एथ्लेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो प्रतियोगिता, १३ गते शुक्रबार ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलको प्रतियोगिता हुने उनले जानकारी गराएका छन् ।

    कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले विद्यालयहरूमा पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी खेलकुदको बिकासमा जोड दिँदै आएको उल्लेख गर्दै खेलकुद क्षेत्रमा भएका यस किसिमका गतिविधि बाट स्थानीय सरकारले सिक्नुपर्ने बताए ।

    कार्यक्रममा भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासी लगायतले प्रतियोगिताको महत्वमाथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...