भक्तपुरको विशेष गीत ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको गीत तथा गायक कपिल कस्पालको एकल एल्बम महसुसको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने अपेक्षा गरिएको उक्त भक्तपुर विशेष गीत सहित कस्पालको एकल एल्बम महसुस शनिबार संयुक्त रुपमा लोकार्पण भएको हो ।
कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’को रचना रहेको भक्तपुर विशेष गीतको गायक कपिल कस्पाल नै रहेका छन् । यसमा संगीत भने बीबी अनुरागीले भरेका छन् । भक्तपुरको विशेष गीत र एल्बम लोकार्पण कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । रागरागिनी इन्टरटेन्टमेन्ट प्रा. लि भक्तपुरले आयोजना गरेको सो कार्यक्रममा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग, वरिष्ठ संगितकार दिपक जंगम, चागुनारायण नगरपालिका प्रमुख सोम मिश्र लगायत अन्य व्यक्तित्वहरुको समेत आतिथ्यता रहेको थियो ।
भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न बनेको यस गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तित्वहरु, विभिन्न जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिविद् तथा राजनीतिक व्यक्तित्वहरुले अभिनय गरेका छन् ।
यो गीतले भक्तपुरको पर्यटन प्रवर्द्धनमा मात्र नभई ‘ भिजिट नेपाल २०२० को लागि पनि उपयोगी गीतका रुपमा योगदान गर्नसक्ने अपेक्षा गरिएको छ । पर्यटकले सजिलै बुझ्न सकुन भनेर अंग्रजी भाषामा पनि गीतको भिडियोमा अनुवाद गरिएको बताइएको छ ।
लोकार्पण कार्यक्रममा भक्तपुरको ऎतिहासिक गीतमा योगदान पुर्याउने व्यक्तित्वहरु लगायत संघसंस्थालाई कदर पत्र दिई सम्मान समेत गरिएको थियो ।