भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद समाधान गर्न भारतको तर्फबाट अहम् भूमिका निर्वाह गर्ने व्यक्ति थिए, विजय गोखले। जो त्यसबेला चीनका लागि भारतीय राजदूत थिए। उनै गोखलेलाई हालै मोदी सरकारले विदेश सचिव नियुक्त गरेको छ। उनले गत सोमबारबाट डा एस जयशंकरको स्थान लिएका छन्। विदेश सचिव नियुक्त भए लगत्तै नेपाल आएका उनको यो पहिलो विदेश भ्रमण हो।
संस्कृत र चिनियाँ भाषामा विशेष दखल राख्ने गोखलेले चीनसँगको भारतीय सिमाना दोक्लाममा दुवै देशका सैनिकबीच बढेको तनाव साम्य गर्न तत्कालीन विदेश सचिव जयशंकरको सहयोगमा अमेरिका तथा जापानबाट समर्थन जुटाउँदै चीनमाथि दबाव दिएका थिए। उनले चीन सरकारसमक्ष गरेको संवेदनशील र चुनौतीपूर्ण कूटनीतिक वार्ताबाट भारतमा सबैको प्रशंसा बटुलेका थिए।
सन् १९८१ ब्याचका अधिकृत गोखलेले शान्तिपूर्ण वार्ताका माध्यमबाट दोक्लामको तनावलाई गत अगस्टमा नरेन्द्र मोदी ब्रिक्स सम्मेलनमा भाग लिन चीन जानु एक दिनअघि मत्थर पारेका थिए। यो सफलतापछि गोखलेलाई सरकारले आगामी २ वर्षका लागि विदेश सचिवको जिम्मेवारी सुम्पिएको बताइएको छ। उनी पुरातनवादी कूटनीतिज्ञ, नियम पालक तथा केन्द्रमा रहेर काम गर्ने अधिकारीको रुपमा चिनिन्छन्।
आफ्नो सरकारी सेवाको दौरान गोखलेले पूर्वी एसिया तथा विशेषगरी चीनसँगको गहिरो अनुभव बटुलेका छन्। उनले भारतीय विदेश मन्त्रालयअन्तर्गत चीन र पूर्वी एसिया हेर्ने निर्देशक तथा पूर्वी एसिया हेर्ने सह(सचिवका रुपमा काम गरिसकेका छन्। गोखले सन् २०१५ मा चीनका लागि भारतीय राजदूतको रुपमा दोस्रो पटक बेइजिङ पुगेका थिए। यसका साथै उनी जर्मनी, हङकङ, ताइवान, मलेसिया तथा भियतनाममा पनि भारतीय राजदूतका रुपमा खटिएका थिए।
‘छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विस्तार गर्ने गोखलेको कार्यशैली विशिष्ट छ’, चिनियाँ अध्ययन केन्द्रका निर्देशक अशोक कान्थले भने, ‘बहुपक्षीय अनुभव र आर्थिक सम्बन्धमा हालसम्म गरेको कामले गोखले जयशंकरलाई प्रतिस्थापन गर्ने सही व्यक्ति हुन्। कान्थले गोखलेसँग पूर्वी एसिया, बेइजिङ तथा क्वालालम्पुरमा सँगै काम गरेका थिए। गोखले हिन्दु हुनु र संस्कृतको राम्रो ज्ञान हुनुले पनि विदेश सचिवका लागि उनी मोदीको पहिलो रोजाइमा परेको निर्देशक कान्तको दाबी छ।
सन् २०१७ को अक्टोबरमा बेइजिङबाट नयाँदिल्ली फर्किएपछि गरेका कामले उनको अन्तिम चरणमा रहेको सरकारी सेवालाई वजनदार बनाइदिएको छ। यस बीचमा उनी सरकारको तर्फबाट विदेश मन्त्रालयमा रहेर विभिन्न भारतीय सम्झौताको तयारी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भारत भ्रमण तथा स्वतन्त्रता दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा आएका १० आसियान राष्ट्रका प्रमुखहरुसँगको यात्रा समीकरणका लागि वातावरण बनाउन जुटेका थिए।
पाकिस्तानमा भएको हफिज सइद र्योलीमा भारतका लागि प्यालेस्टिनी राजदूत संलग्न भएपछि भारतले आफ्नो असन्तुष्टि व्यक्त गरेको थियो। उक्त असन्तुष्टिलाई साम्य पार्न गोखलेले निर्णायक भूमिका निर्वाह गर्दै प्यालेस्टिनी राजदूतसँग तुरुन्त वार्ता आह्वान गरे।
जर्मनीमा सन् २०१३ देखि २०१६ सम्म राजदूत रहँदा गोखले प्रधानमन्त्री मोदीको नजरमा परेका थिए। उनले सो क्रममा प्रधानमन्त्रीको भ्रमणको मिति तथा तयारी गर्नमा प्रभावशाली भूमिका निर्वाह गरेका थिए। उनले जर्मनीमा मोदीकै हातबाट सन् २०१५ मा ह्यानओभर–मेसे सम्मेलनमा ‘मेक इन इन्डिया अभियान’को समेत उद्घाटन गराए।
मोदीको सो भ्रमणले भारत र जर्मनीबीचको आर्थिक सम्बन्धलाई माथिल्लो उचाइमा पुर्योएको थियो। जसबाट भारतमा सञ्चालन रहेका क्लिन गंगा, स्मार्ट सिटी प्रोजेक्ट तथा द्रुततर रेल सेवाका लागि जर्मनीबाट उच्च सहयोग प्राप्त भयो। आफ्नो कार्यकालमा तत्कालीन विदेश सचिव जयशंकरले भारत(अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन विशेष भूमिका खेलेका थिए। जयशंकरले सुरु गरेका परराष्ट्र सम्बन्धी कामलाई सही ढंगबाट गति दिनु नै गोखलेका लागि पहिलो महत्वपूर्ण काम हुनसक्छ।
पछिल्लो समय भारत तीव्र आर्थिक वृद्धि हासिल गर्न अग्रसर रहेका बेला छिमेकी देशहरुसँगको सम्बन्धमा भने चिसोपना बढेको देखिन्छ। सार्कका सदस्य राष्ट्रहरु पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स हुँदै अफगानिस्तान पनि भारतसँगको सम्बन्धबाट पछिल्लो समय त्यति सन्तुष्ट हुन नसकेको बताइन्छ। तर, विदेश सचिवमा गोखलेको नियुक्तिपछि चीनले आगामी दिनमा भारत र चीनको आपसी सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गर्दै उनलाई बधाई दिएको छ। सो घटनाले पूरै दक्षिण एसियासँग भारतको सम्बन्धमा सुमधुरता थपिने आकलन गर्न सकिन्छ।
हाल रहेको सम्बन्धको चिसोपनबाट गोखलेको आगमनले भारतलाई पार लगाउन कत्तिको सहयोग गर्नेछ, त्यसका लागि भने केही समय हेर्नैपर्ने हुन्छ। यसमा गोखलेको हालसम्मको अनुभव र व्यक्तित्वले पक्कै भूमिका खेल्ने परराष्ट्रविद्हरुले अपेक्षा व्यक्त गरेका छन्।
एजेन्सीहरुको सहयोगमा