News Portal

  • रकेट हमलापछि इजरायलले गर्‍यो इरानमाथी जवाफी आक्रमण

    इभक्तपुर संवाददाताभक्तपुर, २६ बैशाख
    ७०७ पटक
    भक्तपुर, २६ बैशाख

    इजरायलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ। इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका थिए।

    एकजना इजरेली प्रवक्ताका अनुसार उनको देशले “हालैका वर्षहरूमा गरिएकामध्ये सबैभन्दा विस्तृत प्रकृतिको हवाई कारबाही” गरेर प्रतिक्रिया जनाएको छ। इजरेली लडाकु विमानहरूले “दर्जनौँ इरानी लक्ष्यहरू”मा आक्रमण गरेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

    इजरेली लडाकु जेटहरूले यिनलाई निशाना बनाए:

    इरान र ‘र्‍याडिकल एक्सिस’सँग सम्बन्धित गुप्तचरी केन्द्रहरू । इजरेली पक्षले इरान, सिरिया, लेबनानको हेजबुल्ला आन्दोलन र हमासजस्ता प्यालेस्टाइनी लडाकु समूहहरूलाई ‘र्‍याडिकल एक्सिस’ भन्ने गरेको छ।

    कड्स फोर्सको सम्भार मुख्यालय
    दमास्कसबाट दक्षिणतिर रहेको किस्वाह नगरमा रहेको सैन्य सामग्री राखिएको हाता
    दमास्कसको उत्तरतिर रहेको इरानी सैन्य हाता
    दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कड्स फोर्सका हातहतियार गोदामहरू
    कड्स फोर्ससँग आबद्ध गुप्तचरी संयन्त्र र पोस्टहरू
    गोलानको डिमिलिटिराइज्ड क्षेत्रमा भएका निगरानी एवम् सैन्य पोस्टहरू र हतियार भण्डार
    रकेट प्रहार गर्ने प्रयोग भएको इजरेली लन्चर

    इरानबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

    आईडीएफका अनुसार चेतावनी दिँदादिँदै पनि सिरियाली पक्षले इजरेली लडाकु जेटहरूमा आक्रमण गरेपछि सिरियाका विभिन्न हवाई सुरक्षा प्रणालीलाई पनि निशाना बनाइएको थियो।

    इजरेली रक्षा मन्त्री अभिग्दोर लीबर्मानले आईडीएफले “सिरियामा रहेका लगभग सबै इरानी संरचनाहरू’मा आक्रमण गरिएको बताएका छन्।

    “यहाँ (इजरेलमा) वर्षा हुन्छ भने त्यहाँ ठूलो वर्षा हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ,” उनले भने, “मलाई लाग्छ हामीले यो अध्याय यहीँ सकेका छौँ र सबैले सन्देश पाएका पनि छन्।”

    इजरेलले तनाब बढाउन नचाहेको तर जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेकोमा टिप्पणी गर्दै लीबर्मानले भने, “इरानले प्रत्यक्ष रूपमा इजरेलमाथि आक्रमण गरेको छ एवम् इजरेली सार्वभौमसत्ता र अधीनस्थ भूभागमाथि आघात गर्ने प्रयास गरेको छ।”

    इजरेलले किस्वाहमा आक्रमण गरेको एक दिनपछि यो सङ्घर्ष भएको हो। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरेलले एउटा इरानी हतियार भण्डारलाई निशाना बनाउँदा रिभ्युल्युश्नरी गार्ड्सका आठसहित सिरियाली सरकारलाई समर्थन गर्ने १५ सैनिकहरू मारिएका थिए।

    गोलानमा के भयो ?

    सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा गोलान हाइट्सको अधिकांश भाग इजरेलले सिरियाबाट आफ्नो अधीनमा पार्‍यो र पछि आफूमा गाभ्यो। तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन। इजरेल डिफेन्स फोर्सेसका अनुसार बिहीवार बिहान उसका चौकीहरूमा इरानको रिभ्युल्युश्नरी गार्डसको कड्स फोर्सले २० वटा रकेट प्रहार गर्‍यो।

    गोलान हाइट्स

    आईडीएफका एक जना प्रवक्ताका अनुसार चार वटा रकेटहरूलाई इजरेली प्रतिरक्षा प्रणालीले छेकिदिएको थियो। अरू रकेटहरू भने निशानामा पुगेनन्। आक्रमणमा कोही हताहत भएको विवरण प्राप्त भएको छैन।

    यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ‘दर्जनौँ रकेटहरू’ दक्षिणपश्चिमी दमास्कसको कुनेइत्रा प्रान्तबाट इजरेल अधीनस्थ गोलानतिर प्रहार गरिएका थिए। को जिम्मेवार हुन् भन्ने नखुलाई उसले इजरेली फौजले सिरियाली नियन्त्रणमा रहेको गोलोनस्थित बाथ नगरमा बम आक्रमण गरेपछि रकेटहरू प्रहार गरिएको बताएको छ।

    किन इजरेलले इरानी स्वार्थमा आक्रमण गर्छ ?

    इरान इजरेलको शत्रुराष्ट्र हो। इरानले बारम्बार यहुदी राज्य इजरेलको अस्तित्व मेटाउन आग्रह गर्ने गरेको छ। इरानले सिरियाका राष्ट्रपति बशार अल असदलाई सहयोग गर्न सयौँ सैनिक पठाएको छ। इरानका अनुसार उनीहरू सिरियाली सेनाका लागि सल्लाहकारका रूपमा गएका हुन्। इरानले हतियार, तालिम र आर्थिक सहयोग दिएका हजारौँ लडाकुहरू सिरियाको गृहयुद्धमा सरकारी सेनासँग मिलेर लडिरहेका छन्।

    असदलाई सहयोग गर्दा इरानले सिरियामा आफ्नो सैन्य उपस्थित बढाएको छ। त्यसलाई इरानले खतरा मानेको छ। केही अघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आक्रमण रोक्न नभए युद्ध हुन सक्ने भनेर चेतावनी दिएका थिए। इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिरिन नेतन्याहुले उल्लेख्य भूमिका खेलेको मानिन्छ। बीबीसी

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...