नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । भाद्र शुक्ल प्रतिपदामा गाइ निकाल्ने पर्व नै सापारु अर्थात गाइजात्रा हो । यो पर्व जनैपूर्णिमाको भोलीपल्ट पर्ने गर्दछ ।
यस दिन उपत्यकामा वर्षभरि दिवगंत भएका आफन्तहरुको संझनामा गाइसहित जात्रा निकालिन्छ । आज गाइजात्रा पर्व उपत्यका र देशभर नेवार बाहुल्य क्षेत्रमा विशेष उत्सवका साथ् मनाइदैछ ।
मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ ।
मल्ल कालका राजा प्रताप मल्लले पुत्रशोक परेर विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउन आदेश दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकापछि विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप गाइजात्राको प्रचलन चलेको जनविश्वास रहेको छ ।
भक्तपुरमा पनि यस दिन थुप्रै रौनकका साथ गाइजात्रा पर्व मनाइने परम्परा रहिआएको छ । यहाँबाट लगिने गाई अर्थात् साः लाई भक्तपुर नगरभरि घुमाइन्छ । साथै त्यसको अगाडि बालबच्चादेखि बूढाबूढीहरु कोही धूप बालेर आइरहेको हुन्छन् त कोही दुई ओटा लठ्ठी जुदाउँदै घिन्ताङ्गघिसीं ट्वाक्क गर्दै खेल्दै आउने गर्दछन् । यो हेर्न अरु विभिन्न जिल्ला तथा उपत्यका बाहिरका मानिसहरुको भीड लाग्ने गर्दछ । त्यतिमात्र होइन बिदेशी पर्यटक समेत गाइजात्रा हेर्न भनेर आफ्नो बसाइ लम्बाएर बसेका हुन्छन ।
गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरे दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ ।
भक्तपुरमा सापारुका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङघिसि र माकः प्याखङ सापारुको प्रमुख आकर्षण रहेको छ ।
विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङघिसि भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ ।
भक्तपुरमा सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच, व्यङगात्मक नाटक, साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुकापख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ ।
भक्तपुर जिल्लाकै ठिमीमा भने सापारु राँको बालेर मनाइने चलन छ ।