News Portal

  • सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई ‘मोटो रकमसहित यौन प्रस्ताव’

    भक्तपुर, ८ माघ
    ९७७ पटक
    भक्तपुर, ८ माघ

    इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ।

    एक प्रसिद्ध इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात ‘सूचि’ बनिरहेको बताइन्। ‘यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै रकम खर्च गरिने वेश्यावृत्ति जस्तै भएको छ। कसैले मलाई त्यस्तो प्रस्तावसहित सन्देश पठायो होला भनेर सोच्न पनि डर लाग्छ। उनीहरूले इन्स्टाग्रामका हजारौँ सुन्दरी केटीहरूलाई त्यस्तै सन्देश पठाइसकेको हुन सक्छ,’ टाइन-लेक्सी क्लार्सन भन्छिन्।

    टाइन-लेक्सी क्लार्सनलाई इन्स्टाग्राममा लाखौँ मानिसले पछ्याइरहेका छन्। उनी भन्छिन् उनलाई २० हजार पाउन्ड (झन्डै ३० लाख नेपाली रुपैयाँ) सहित साँझको खाना र पेय पदार्थको लागि आउन भन्दै कसैले सन्देश पठाउँदा उनी १९ वर्षकी थिइन्। लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको दोस्रो भागमा काम गरिसकेपछि उनलाई एउटा एजेन्सीले दुबईमा पाँच रात बिताउनका लागि ५० हजार पाउन्ड (झन्डै ७५ लाख रुपैयाँ) दिने प्रस्ताव गर्‍यो। त्यसमा के के काम हुनेछ भन्ने विवरण गोप्य राख्नु पर्ने एउटा सर्त पनि थियो।

    टाइन-लेक्सी भन्छिन् उनले त्यो प्रस्ताव अस्वीकार गरिन्। तर उनको चिन्ता छ कि उदाउँदै गरेका ‘इन्फ्लुएन्सर’हरू आफूलाई चाहिने विलासी सामग्री खरिद गर्न र आफ्नो ‘आवरण तथा भेषभूषा चुस्त दुरुस्त राख्नका लागि’ त्यस्ता कारोबारहरूमा फस्न सक्ने जोखिम रहिरहन सक्छ। ‘केही मानिसका लागि त्यो एकदमै धेरै पैसा हो, त्यो जीवन नै बदलिदिन सक्ने परिमाणको पैसा हो।’

    ‘महत्त्वपूर्ण कारोबार’
    लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको तेस्रो भागमा काम गरेकी रोजी विलियम्स् भन्छिन् उनलाई दुबईको एक पुरुषले आफ्नी मित्र बनिदिए बापत एक वर्षमा एक लाख पाउन्ड (झन्डै डेढ करोड रुपैयाँ) र सबै कपडा र झोलाहरू किनिदिने प्रस्ताव गरेका थिए। उनले आफूलाई दुबई शहरमा रहेको बताउने एक पुरुषबाट आफूलाई प्राप्त एक सन्देश हामीलाई देखाइन्। त्यो सन्देशमा ती पुरुषले ‘एक महत्त्वपूर्ण कारोबार’बारे कुरा गर्ने उल्लेख गरेका छन्। रोजीका अनुसार त्यस्ता सन्देशहरूमा यस्ता शब्दावाली सामान्य हुन्।

    तर उनी भन्छिन् जत्ति नै पैसाको प्रस्ताव गरिएपनि उनी कुनै प्रलोभनमा पर्ने छैनन्। रोजी भन्छिन् सामाजिक सञ्जालमा चर्चित हुनाको एउटा बेफाइदा यही हो: ‘तपाइँलाई मानिसले जिस्क्याउने वा उडाउने ट्रोलिङ प्रवृत्तिबारे चेतावनी दिइएको हुन्छ। तपाइँलाई जीवन नाटकीय रूपमा बदलिन सक्छ भन्नेबारे चेतावनी दिइएको हुन्छ। तर तपाइँलाई पुरुषहरूले खरिद गर्न पनि सक्छन् भन्ने बारेमा कहिल्यै कसैले सजग गराइएको हुँदैन।’

    उनी भन्छिन् यस्ता विषयमा ‘इन्फ्लुएन्सर’हरूको सञ्जालमा पनि कुरा गर्ने गरिँदैन: ‘हामीले त्यस्तो कुरा गर्ने परिस्थिति नबनेको हुन सक्छ। सायद हामी यस्ता विषयमा कुरा गर्न निकै लज्जित हुने गरेका छौँ।’

    ‘शान कम भएको अनुभब’
    भिक्टोरिया डार्बिशर प्रोग्रामले सामाजिक सञ्जालमा धेरैले पछ्याइरहेका इन्फ्लुएन्सरहरूले पाएका धेरै सन्देशहरू हेरेको छ। तिनमा पुरुषहरूले सीधै यौनको कुरा गरेकोदेखि कुनै धनाढ्य ग्राहकका लागि बिचौलियाको रूपमा पठाइएका सन्देशहरू पाइए। हामीले नाम खुलाउन नचाहने एक ब्रिटिश रियलिटी स्टार दाबी गर्ने एक महिलालाई पठाइएको लिखित प्रमाण पायौँ। त्यसमा विदा मनाउने क्रममा यौन सम्पर्कका लागि १० हजार पाउन्ड (झन्डै १५ लाख रुपैयाँ) दिने प्रस्ताव गरिएको थियो।

    एउटा टेलिभिजनको ट्यालेन्ट शोमा सहभागी भएकी ‘इसाबेल’लाई आफूभन्दा १० वर्ष जेठो पुरुषले इन्स्टाग्राममार्फत सन्देश पठाए। ‘मलाई राम्रो डिजाइनर ब्यागहरू दिने प्रस्ताव गरियो। ऊ धनाढ्य हुनुमा गर्व गर्दथ्यो र मलाई महङ्गा ब्याग किनिदिएर उसले सन्तुष्टि लिने गर्दथ्यो,’ उनले भनिन्। ‘मलाई आफ्ना अनलाइनका प्रशंसकहरूलाई व्यस्त राख्नु थियो। त्यसैले सायद मैले त्यो प्रस्ताव स्विकारेँ।’

    उनले ती पुरुषलाई १८ महिनासम्म भेटिनन् तर एक दिन भेटिन्। ‘उनी एकदमै रमाइला थिए। साँझको खाना खाँदा हामीले केही मदिरा पियौँ। उनले मेरो वचतको बारेमा सोधे। मैले मेरो केही हजार पाउन्ड ऋण भएको बताएँ। त्यसपछि उनले भने: ‘म सँग यौन सम्पर्क गरे म तिमिलाई त्यसको दुई गुणा बढी रकम दिन्छु।’ त्यसपछि ‘इसाबेल’ उनको होटेलको कोठामा गइन्।

    तर मलाई मेरो आत्मसम्मान नै झरे जस्तो लाग्यो, आफैदेखि रिस उठ्यो र ममाथि कुनै अन्याय भएको जस्तो लाग्यो।’ उनी भन्छिन् यो कुनै प्रकारको वेश्यावृत्ति होइन: ‘यो यस्तो सम्बन्ध हो जुन समयसँगै अघि बढ्दै जान्छ … तर वेश्यावृत्तिमा तपाईँ केही रकम लिएर नचिनेको मानिसँग यौन सम्बन्धकालागि सहमत हुनुहुन्छ।’

    शोषण
    तर महिलालाई यौनको बस्तुका रूपमा प्रस्तुत गर्ने कार्य वा सोचकाविरुद्ध अभियान चलाइरहेको एक नारीवादी समूह अब्जेक्ट भन्छ महिलाले ‘अति नै लोभलाग्दा’ प्रस्ताव स्विकार्ने कारणहरू उसले बुझेको छ। हेदर ब्रन्स्केल-इभान्सले भनिन्: ‘यस्ता कार्यमा संलग्न महिलाले वेश्यावृत्ति भन्ने शब्द सुन्न चाहँदैनन्। तर वास्तविकता यो हो कि उनीहरूले पैसाको लागि आफ्नो शरीर बेचिरहेका छन्।’ उनीहरूलाई हौस्याउनेहरूले महिलालाई ‘इन्फ्लुएन्सर’ बन्न चाहिने सबैथोक दिइरहेका हुन्छन्। तर अन्ततोगत्वा त्यो उनको शोषण नै हो। किनभने ती महिलाले त्यही पैसाकै लागि त्यो सबथोक गरिरहेकी हुन्छिन्। त्यसले उनलाई लज्जित तुल्याइदिने छ।

    सेलेब्रिटी अर्थात् ख्यातिप्राप्त व्यक्तिका एक एजेन्ट रब कुपर भन्छन् सामाजिक सञ्जालका चर्चित महिलाहरू मात्र नभई पुरुषहरूले पनि त्यस्ता खालका सन्देशहरू पाइरहेका हुन्छन्। उनी भन्छन् सामाजिक सञ्जालका खातालाई पनि पासपोर्ट वा बिमा नम्बर जस्तै महत्त्व दिएर प्रयोगकर्ताहरूलाई पनि जबाफदेही बनाउने बेला भइसकेको छ। रोक्का गरिएको सामाजिक सञ्जालको खाता पुन: खुलाउन निवेदन दिनु पर्ने व्यवस्था गरेर त्यसो गर्न सकिने उनको तर्क छ।

    फेसबुक कम्पनीका एक प्रवक्ताले भने: ‘इन्स्टाग्राम मार्फत् यौन कारोबार सह्य हुँदैन र जसले हाम्रो निर्देशिकाको बेवास्ता गर्छ त्यसलाई प्रतिबन्ध लगाइने छ। हामी इन्स्टाग्राम मानिसहरूलाई आफ्ना अभिव्यक्ति दिनका लागि सुरक्षित स्थल होस् भन्ने चाहन्छौँ। हाम्रा यस्ता मञ्चहरूमा कसैले पनि दुर्व्यवहार भोग्नु नपरोस् भनेर हामीले विभिन्न औजार र प्रविधिमा धेरै लगानी गर्छौँ।’ बीबीसी नेपाली

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...