News Portal

  • कोरोनाको प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस क्वारन्टीनमा

    इभक्तपुर संवाददाता२५ फागुन २०७६
    ७८० पटक
    २५ फागुन २०७६

    कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ।

    नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन् । युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो।

    इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन् । कोभिड-१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० भन्दा बढी पुगेको छ ।सङ्क्रमित भएको पुष्टि हुने मानिसको सङ्ख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो।

    एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्। भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ । त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन्।यसअघि उत्तरी भेगमा क्वारन्टीनका कारण झन्डै ५०,००० मानिस प्रभावित भएका थिए।

    मृत्युदर कस्तो छ ?

    इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ।मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन् । सरकारी तथ्याङ्कअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो। विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो।

    नियन्त्रणका उपाय कस्ता ?

    भाइरस नफैलियोस् भनेर सर्वसाधारणहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको छ।सरकारले मानिसहरूको जमघट हुने स्थानहरू बन्द गर्ने भएको छ। नाईटक्लब, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट आदि बन्द हुनेछन्। यसअघि केही समयका लागि शैक्षिक संस्थाहरू बन्द हुने घोषणा भइसकेको छ। तर रेस्टुराँ र क्याफे भने खुला रहनेछन्।

    तर त्यहाँ खानपिनका लागि जाने ग्राहकहरूले एकअर्कासँग कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ । सर्वसाधारणहरूका लागि खेलकुदका गतिविधिमा पनि बन्देज लगाइएको छ।

    के भन्छ विश्व स्वास्थ्य सङ्गठन ?

    विश्व स्वास्थ्य सङ्गठनले इटलीलाई सङ्क्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न सुझाव दिएको छ। सरकारले क्वारन्टीनबाट भागे तीन महिना जेल सजाय भोग्नुपर्ने घोषणा गरेको छ।इटलीको योजना चीनको जस्तै देखिन्छ। चीनमा लाखौँ मानिसलाई क्वारन्टीनमा बस्न बाध्य पारिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले चीनको प्रयासको प्रशंसा गर्दै आएको छ।

    अहिलेसम्म विश्वभरि एक लाख भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ। चीनबाहिर सर्वाधिक सङ्क्रमण क्रमश: दक्षिण कोरिया, इरान र इटलीमा देखिएको छ। तर ती देशमध्ये इटलीमा मृत्यु हुने मानिसको सङ्ख्यामा बढी छ। इरानमा ६,००० जना सङ।क्रमित भएका छन् भने १४५ भन्दा बढीको मृत्यु भइसकेको छ।विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...