News Portal

  • चीनमा क्वारन्टीन राखिएको होटल भत्कियो, छ जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता२५ फागुन २०७६
    १३०८ पटक
    २५ फागुन २०७६

    दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अट्ठाइस जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त पाँचतले होटल शनिवार साँझ भत्किँदा भग्नावशेषमा ७१ जना फसेका थिए।

    उद्धारकर्मीहरूले अहिले पनि भग्नावशेषमा खोजी गरिरहेका छन् । आपत्कालीन व्यवस्थापन हेर्ने मन्त्रालयका अनुसार ३८ जनाको उद्धार गरिएको छ। यसअघि फसेकामध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

    भवन भत्किनुको कारण अझै स्पष्ट भएको छैन।उक्त घटना स्थानीय समयानुसार शनिवार अपराह्ण ७:३० बजे भएको थियो। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।

    उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ। आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्, “मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। उहाँहरूले फोन उठाइरहनुभएको छैन।”

    “म पनि [अर्को होटलमा] क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ। के गर्ने त्यो मलाई थाहा छैन,” उनले भनिन्, “उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो। अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए।”शुक्रवारसम्म फुजिएनमा झन्डै ३०० जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो।

    त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो। शनिवार चीनमा सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या ४४ मा सीमित भयो। अघिल्लो दिन कुल ९९ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि भएको थियो।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघिसकेको छ। कोभिड-१९ भएर मृत्यु हुने बिरामीको सङ्ख्या पनि ३,००० कटेको छ। अधिकांश सङ्क्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ।विविसीबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...