News Portal

  • विश्वकर्माकाे बेजाेड कविता : जूनको उज्यालोमा अडिएको समय

    काठमाडाैं, १३ फागुन २०७७
    ९०९ पटक
    काठमाडाैं, १३ फागुन २०७७

    जूनको उज्यालोमा अडिएको समय
    ——————————————-

    जमिन खनेर घाम निकाल्नेहरूकै
    आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो

    यो समय
    एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ
    र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र

    अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम
    र त्रसित रहन्छन् मस्तिष्कहरू-सम्भावित दुर्घटनाको भयमा

    घामको पाइला , जब पर्छ सडकमा
    कैयौँ बाटाहरू क्षतबिक्षत हुन्छन् जीवनको लयबाट

    घाम जब आफैँ ‘ग्रान्ड डिजाइन’ गर्छ-हवाई’जहाजमा उडाउने
    हजारौँ आकाशको हृदयभरि उड्छ कालो बादल

    जब घामले ठान्छ-दुरसंचारबाट जोडिने तपाईंको मुटुमा
    र फुलाउने ओठभरि मुस्कान
    अबरुद्ध हुन्छ अर्थतन्त्रको गला !

    हिँड्दै गरेको बाटोमा पनि मुस्कुराउँदै आउन सक्छ घाम
    र अपदस्त गर्न सक्छ तपाईंको ओठबाट मुस्कान ,
    तपाईंका पाइला पाइलामा जासुसी गर्दै
    घुस्न सक्छ बिजुलीको मिटरमा ,
    चोटा,
    कोठा,
    स्टोर रूममा ,
    तपाईंको पूजाकोठाको भगवान् घामकै एजेन्ट हो
    टेलिभिजन च्यानलको रिमोटमा उसकै उपनिवेश चल्छ
    याद छ तपाईंकै अनुहार पनि
    हरबिहान पग्लिएर खस्छ धाराको नलबाट

    पाठशाला हिँडेका कलिला घामहरू
    पाइलापाइलामा ठोक्किन्छन्-घामहरूको यस्तो रक्तहिन अनुहारसँग
    र पढ्छन्-आयातित ‘दिव्योपदेश’मा पृथ्वीनारायण शाह !

    ओ ! गणतन्त्र ,
    हरबिहान टेबुलमुनीबाट उदाउँछ तिम्रो घाम
    र हररात बेहोस बेहोससँग अस्ताउँछ वाइनको बोतलभित्र !

    जूनहरू धमिलो उज्यालो च्याप्दै
    छातीबाट निस्किएको लम्बेतान बाटो हेर्छन्
    सपना भत्किन्छ र अाैँशी आउँछ
    छातीबाट खस्छ उज्यालो र जीवन मुस्कुराउँछ

    थाहा छैन जूनको छातीबाट खसेको उज्यालोले
    कतिन्जेल देखिन्छ युगको अनुहार !?
    —————————————

    हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन् ।

    समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ ।

    प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो । सो प्रतियोगिताको लागि डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।

    उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुवर, प्रकाश आचार्य, जीवन आरोही, सानु खनाल, दिलीप कुवर, जनक रसिक,  दीप पाण्डे,  प्रज्वल अधिकारी,  निरज दहाल,  टीएन भट्ट “विश्वामित्र”,  रमा अधिकारी कादम्बरी, सुरज पराजुली, सुष्मा तिमल्सिना,  सन्तोष लामिछाने,  दिपेन्द्र अरुण, केशवराज ज्ञवाली, मोहित जोशी,  सोमनाथ दहाल, नवराज अधिकारी,  नारायण अधिकारी,  सुवास शर्मा र भीष्मप्रसाद भट्टराई रहेका हेम सरिता पाठक फाउन्डेसनले जनाएकाे छ ।

    काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने बताइएकाे छ । यसैगरी एक हजार अमेरिकी डलर राशीको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...