आमा हुन् यिनी हाम्री, धरा र धरणी पनि ।
चिन्दछ लोकले पृथ्वी, भूमि र धरती भनी ।।
वनस्पति र जीवादि, सृष्टि गर्ने यिनै त हुन् ।
आफैंलाई खनिखोस्री, खुवाउने यिनै त हुन् ।।
शैल हो यिनको शीर, जलधारा बगाउने ।
सरिताले संसारीको, सासलाई बचाउने ।।
प्राणवायु सेरोफेरो, अम्बर हो संसारको ।
प्रकृतिका सबै स्रोत, जनको धनसार हो ।।
मरुभूमि कतै देख्दा, कतै छ तृणभूमि पो ।
सागर जलको कोष, घर प्रवाहिनीको हो ।।
अति मिहिन जीवाणु, झनै सूझ्म विषाणु छ ।
विशाल ह्वेल माछाको, बास पनि यहीं त छ ।।
जलचर छ तालैमा, उड्छ वायुमा चरा ।
लेउझ्याउ साह्रै छोटा, जङ्गल छ हराभरा ।।
चिरबिर चरीको छ, वृक्ष चपल वायुले ।
चारा पायो बचेरोले खोजी ल्यायो नि माउले ।।
पृथ्वीकै काखमा हाम्रो, जन्म मृत्यु र जीवन ।
बसुन्धरा तिमीलाई, लाखौ छ अभिवादन ।।
यिनकै गर्भ खोस्रेर, खनिज वस्तु पाउने ।
यिनकै काखमा हामी कारखाना चलाउने ।।
मल हाल्छ किसानैले, पोल्दछ यिनको छाति ।
विषादिले जलन हुन्छ, नहालेमा हुने जाति ।।
लौह अनि सिमन्तीका, नभस्पर्शी बने घर ।
फोहोरको बन्यो खानी, शहर आठ प्रहर ।।
जीवाष्म इन्धनै खाई, धुवाँ ओकल्छ यानले ।
कुइरो भैं गगनलाई ढाक्दछ, यति जान रे ।।
हरित गृह ग्यासैको, उत्सर्जन धेरै भयो ।
धेरै माथि गयो पारो, वातावरण कठिन भयो ।।
चाँदी पग्ली हिमाद्रीको, सागरको जलै भयो ।
होचा भूमि सबैलाई, समूद्रले लिने भयो ।।
सविता भन्दछन् पृथ्वी, भेट्दिन कुइरो मुनि ।
देखेनन् एक अर्कालाई, इला र इन्दुले पनि ।।
प्रविधिको लिई सेवा, मानिस भो अझै खुशी ।
प्रदूषण बढेकै छ, धर्ती माता भइन् दुखी ।।
एकै सिक्का दुई पाटा, समीरण र मानव ।
नबुझेर कुरा त्यति, विज्ञान बन्छ दानव ।।
मातालाई रुवाएर, पाउने सुख पाप हो ।
आश्रय सब प्राणीको, भङ्ग गर्ने कुजात हो ।।
शैली कृत्रिम छोडेर, प्रकृतितिर हेर न ।
प्रदूषण हटाएर, कान्तिले भूमि बेर न ।।
स्वच्छ पृथ्वी बनाएर, सबैलाई बसाउनु छ ।
अनन्त कालको लागि, पृथ्वीलाई बचाउनु छ ।।
(कवि कौशिक शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।)