भक्तपुरको कटुन्जेलाई देशभर चिनाउने सम्भवत: पहिलो व्यक्तित्व साहित्यकार चक्रपाणि चालिसेको स्मृतीमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको हो ।
सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति रहेका प्रमुख अतिथि विमल निभा लगायत अतिथिहरुले चक्रपाणि” सार्वजनिक गरेका हुन् । पत्रिका सार्वजनिक गर्दै उपकुलपति निभाले आफ्नो पुस्ता भक्तपुरकै भएको कारण भक्तपुरमा हुने सिर्जना, कला, साहित्य, सांस्कृतिक र राजनीतिक गतिविधि निकै रोचक र प्रिय लाग्ने बताए । उनले भक्तपुरमा रहेर चक्रपाणि चालिसेले साहित्यको प्रवर्द्धनमा योगदान गरेको उल्लेख गर्दै उनको नाममा स्थापित पत्रिकाले पनि साहित्यको सेवा गर्ने विश्वास व्यक्त गरे । भक्तपुर कलासंस्कृतिको केन्द्र मात्र नभएर साहित्य राजनीतिको सभ्य केन्द्रसमेत भएको उनको भनाइ छ ।
उक्त अवसरमा चक्रपाणि स्मारक प्रतिष्ठानका सदस्य सचिव एवम् कार्यकारी सम्पादक रामगोपाल आशुतोषद्वारा सम्पादित “चक्रपाणि” साहित्यिक पत्रिकामाथि लेखक एवम् समालोचक द्वय डा. विन्दु शर्मा र महेश पौड्यालले समालोचकीय टिप्पणी राखेका थिए । डा. विन्दु शर्माले पत्रिकाका सामग्री र समावेश सिर्जना निकै उत्कृष्ट भएको बताउँदै पत्रिकालाई अझै स्तरीय बनाउन सुझाव दिइन् । उनले समावेशी सिद्धान्तमा आधारित पत्रिका भएकाले समावेशी सिद्धान्तका आधारभूत कुरामा ध्यान नदिइएको बताउँदै उद्देश्य न्यायिक रहेकाले आगामी अङ्कदेखि विशेष योजनासहित काम गर्न सल्लाह दिइन् ।
अर्का समलोचक महेश पौड्यालले पत्रिकाका विशेषतामाथि प्रकाश पार्दै कमजोर पक्षमाथि प्रकाश पारे । उनले पत्रिकाका न्यूनतम मापदण्ड अपनाउँदै पत्रिकामा समावेश सामग्रीमा विविधतापूर्ण भएको बताए । विशेष खण्डमा पारिएका कवितालगायतका साहित्यिक सामग्री आकर्षक भए पनि लेखहरू उस्तै र दोहरिनु कमजोर पक्ष भन्दै अर्को अङ्कमा ध्यान दिन सुझाव दिए ।
प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राधिका कल्पित, कञ्चन गजमेर, प्रजेश खड्का, रमि प्रिया, पञ्चकुमारी, रचना मोक्तान, सामना पहाड, शान्तिराम भट्टराई, कृष्ण बाउसे, सुमित्रा सुमिलगायत २४ कविले कविता वाचन समेत गरेका थिए ।
को हुन् चक्रपाणि
चक्रपाणि चालिसेलाई पुरानो राष्ट्रिय गान(श्रीमान गम्भीर नेपाली) का रचयिताको रुपमा सबैले चिन्दछन । त्यसका अलावा उनी कोषकार, व्याकरणविद, भाषासेवी र गद्यनायकका रूपमा पनि व्यक्तित्व बनाएका साहित्यकार हुन् । उनका मच्छिन्द्रनाथको कथा, नीतिरत्न मञ्जुषा,नेपाली संक्षिप्त रामायण, नेपाली संक्षिप्त महाभारत,मेघदूत छाया, नेपाली बगलीकोश,.हितैषी नेपाली शब्दकोश लगायत १ दर्जन बढी कृती रहेका छन् ।
भक्तपुरको कटुन्जेमा बि.स.१९४० मा जन्मिएका चक्रपाणिको निधन बि.स-२०१५ मा भएको थियो । बनारसमा संस्कृत अध्ययन गरेका उनले गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा काम गरेका थिए । पुत्रवियोग र पत्नीवियोगको पीडा हुँदाहुँदै पनि उनी आफ्नो साहित्य साधनाबाट विचलित नभएका र राणा शासनको बिरुद्ध क्रान्तिकारी साहित्यकारको रुपमा छवि बनाएका व्यक्तित्व हुन् । भक्तपुरलाई देशभर चिनाउने सम्भवत: उनी पहिलो साहित्यकार समेत हुन् ।