News Portal

  • भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ मंसिर २०८०
    २५८ पटक
    भक्तपुर, २६ मंसिर २०८०

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ ।

    लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

    समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र लशान नगरपालिका जनसरकारका प्रमुखको अनुमतिमा उपप्रमुख लेइ चियनसिनद्वारा संयुक्त रुपमा हस्ताक्षर भएको भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले जनाएका छन् ।

    भक्तपुर नगरपालिका र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भएको फलदायी छलफलपछि यी दुई नगरपालिकाहरूबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा दुई नगरपालिकाहरुबीच पारस्परिक सम्बन्ध विकास र विस्तारका कार्यहरुलाई अगाडि बढाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।

    समानता र पारस्परिक लाभका आधारमा दुई नगरपालिकाले अर्थतन्त्र, व्यापार, संस्कृति, शिक्षा, पर्यटन, स्वास्थ्य, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा विभिन्न प्रकारका सहकार्य र आदानप्रदान गरिने र आदानप्रदानको प्रगतिको आधारमा दुवै नगरपालिकाले उपयुक्त समयमा अन्तर्राष्ट्रिय भगिनी सहर सम्बन्धको स्थापनालाई अगाडि बढाउन मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरिएको हो ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा पारस्परिक हित हुने गरी सहकार्य र सहयोग गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

    प्रमुख प्रजापतिले समझदारी पत्रमा उल्लेख भएबमोजिम दुई नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने बिश्वास व्यक्त गरे ।

    त्यस्तै लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनले दुई नगरबीचको मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबाट हुने आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले दुवैको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

    लशान सिचुवान प्रान्तकै विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा विकास भइरहेको अवगत गराउँदै उपप्रमुख चियनसिनले मैत्रीपूर्ण सम्बन्ध स्थापनाबाट दुई नगरबीच हुने कृषि, सम्पदा संरक्षण, सांस्कृतिक पर्यटन आदानप्रदानले दुवै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए ।

    भक्तपुर अवलोकनको क्रममा भक्तपुर नपाले जनताको लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कलेज र अस्पताल सञ्चालनबाट आफूहरु निकै प्रभावित भएको बताउँदै भक्तपुरको सम्पदा पुनःनिर्माण कार्य निकै प्रशंसनीय पाएको उनको भनाइ छ ।

    समझदारी पत्र हस्ताक्षर समारोहमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, शाखा प्रमुखहरु, नपाबाट सञ्चालित कलेजका प्रमुखहरु तथा नगरका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

    सोही समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी लशान नगर समितिका शैक्षिक कार्य समिति सहसचिव लिउ यउज्युन, चिनियाँ कम्युनिष्ट पार्टी लशान नगर समितिको संस्कृति, रेडियो र पर्यटन ब्युरोका योजना प्रमुख लिऊ सियाओफाङ, चिकपा लशान नगर स्वास्थ्य आयोगका उपनिर्देशक याड्ड यान, चिकपा लशान नगर समितिको आर्थिक सहकार्य तथा परराष्ट्र मामिला ब्युरोका उपनिर्देशक यु लिवन, चिकपा लशान नगर समितिका सदस्य एवम् लशान विशाल बुद्ध अवलोकन क्षेत्रका प्रमुख तथा लशान विशाल बुद्ध अवलोकन क्षेत्र अनुसन्धान संस्थानका अध्यक्ष फान युआनयुआनलगायतको उपस्थिति रहेको थियो ।

    यसअघि टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्रको अवलोकन गर्नुभएको थियो । उक्त टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत अवलोकन गरी त्यहाँको वस्तुगत अवस्थितिबारे जानकारी लिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...